सन २०२३ मा सुनको भाउ ४ हजार डलर पुग्ने प्रक्षेपण, नेपालमा तोलाको २ लाख रुपैयाँ नाघ्न सक्ने !

पुस ८, काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पहेँलो धातु सुनको भाउमा तीव्र उतारचढाव आइरहेको छ । वर्षको शुरुमा जति थियो अहिले सुन लगभग सोही स्तरमा छ ।

फेब्रुअरीको अन्त्यमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुनको भाउ २ हजार ५० डलरको कीर्तिमानी स्तरमा उक्लिएको थियो । त्यसयता ओर्लिएको भाउ नोभेम्बरमा १ हजार ६०० आसपासमा टेवा पायो । हालैका दिनहरूमा सुनको भाउ पुनः उकालो लागिरहेको छ ।

शुक्रवारको कारोबारमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्ड शून्य दशमलव १ प्रतिशतले बढेर प्रतिऔंस १ हजार ७९५ डलर ३२ सेन्ट कायम भएको छ । गएको एक महीनामा भने सुन ३८ डलर महँगिएको छ ।

तर, आगामी वर्ष भने सुनको भाउ ४ हजार डलरमाथि उक्लिन सक्ने एक विश्लेषकले बताएका छन् ।

अमेरिका, बेलायतलगायत दर्जनौं देशका केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाइरहेको अनि आर्थिक मन्दी निम्तने भयबीच बजारमा तीव्र अस्थीरता देखिएको समयमा सुनको भाउले टेवा पाउने स्वीस एशिया क्यापिटलका प्रमुख लगानी अधिकारी तथा प्रबन्ध निर्देशक जुएर्ग केइनरले सीएनबीसीको ‘स्ट्रिट साइन्स एशिया’लाई भनेका छन् ।
आगामी वर्ष सुनको भाउ प्रतिऔंस २ हजार ५०० देखि ४ हजार डलरसम्म उक्लिने बुधवार उनले भनेका हुन् ।

सुन बजारमा ठूलै परिवर्तन देख्न सकिने सम्भावना बलियो भएको उनको दाबी छ । ‘सुनको भाउमा वृद्धि १० वा २० प्रतिशत मात्रै हुनेछैन, त्यति बेला भाउले साँच्चै नै नयाँ उचाई छुनेछ’ अझ अगाडि उनले भनेका छन् ।

२०२३ मा कयौं अर्थतन्त्रहरूले कुनै न कुनै स्वरुपमा मन्दीको सामना गर्ने अनि केन्द्रीय बैंकहरूले ब्याजदर वृद्धिको गति सुस्त पार्न थाल्ने र त्यसपछि सुन अचानक लगानीको लागि आकर्षक वस्तु बन्ने पनि उनले बताएका छन् । हरेक केन्द्रीय बैंकले किन्न खोज्ने एक मात्रै सम्पत्ति सुन भएको पनि केइनरले बताएका छन् ।

विश्व सुन परिषद्का अनुसार केन्द्रीय बैंकहरूले यो वर्षको तेस्रो त्रैमासमा ४०० टन सुन किनेका छन् । यो सन् २०१८ को सोही अवधिको तुलनामा झन्डै दोब्बर हो । सन् २००० यता जुनसुकै मुद्रामा सुनको औसत प्रतिफल ८ प्रतिशत देखि १० प्रतिशत रहेको छ । ‘ऋणपत्र बजारमा तपाईंले यो लाभ पाउन सक्नु हुन्न । न त शेयर बजारमा पाइन्छ,’ उनले भने ।

विश्वको कयौं हिस्सामा अझै पनि सुनको भाउ उच्च नै रहेकोले लगानीकर्ताहरू सुनमै लगानी गर्न खोज्ने पनि केइनर बताउँछन् ।

महँगी विरुद्धको हेजिङका लागि सुनलाई राम्रो विकल्पको रुपमा हेरिन्छ । सुनको माग मजबूत रहेको भएपनि आगामी वर्ष यसको भाउ दोब्बर भन्दा धेरै हुन्छ भन्नेमा स्लेटस्टोनका वरिष्ठ बजार रणनीतिज्ञ केन्नी पोल्कारी पनि छन् । सुनको भाउ प्रतिऔंस ४ हजार डलरमा पुगेको हेर्न आफूलाई मन पर्ने भएपनि भाउ त्यहाँसम्म नपुग्ने उनी बताउँछन् ।

सुनको भाउ घट्ने र १ हजार ९०० डलर आसपासमा टेको पाउने बताइएको छ ।

विश्वभर महँगी नियन्त्रण गर्न धमाधम बढन थालेको ब्याजदरप्रति महँगीले कसरी प्रतिक्रिया जनाउँछ भन्नेमा सुनको भाउ निर्भर हुने बताइएको छ । सुन बजारले लय समाते पनि यो ४ हजार डलर प्रतिऔंसमा पुग्दैनन् भन्छन् पोल्कारी ।

जापानी केन्द्रीय बैंकले ऋणपत्रको प्रतिफल सम्बन्धी नीति हेरेफेर गरेपछि अमेरिकी डलर कमजोर बन्दा मंगलवार सुनको भाउ बढेर १ हजार डलर माथि उक्लिएको थियो ।

यसैबीच नेपाली बजारमा पनि सुनको भाउमा तीव्र उतारचढाव देखियो । २०७८ फागुन २५ मा प्रतितोला सुनको भाउ १ लाख ५ हजार ५०० को कीर्तिमानी स्तरमा उक्लियो । शुक्रवार नेपाली बजारमा प्रतितोला सुनको भाउ १ लाख ३०० कायम भएको छ । मंसिर यता मात्रै सुनको भाउ २ हजार ३०० रुपैयाँले बढीसकेको छ ।

विश्व बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार डलरमा पुग्यो भने नेपालमा पनि डलर नेपाली रुपयाँ विनिमय दर अहिलेकै स्तरमा रहँदा प्रति तोला सुनको मूल्य झन्डै सवा २ लाख रुपैयाँ नाघ्नेछ ।

तर अहिलेको अवस्थामा सुनको भाउ बढीमा २ हजार डलर मात्रै पुग्ने सुन चाँदि महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । आगामी वर्ष पनि यो सोही स्तरमा रहने ठोकुवा उनले गरेका छन् । यस अगाडि पनि विश्लेषकहरूले सुनको भाउ ४ हजार डलर नाघ्ने प्रक्षेपण गरेका थिए । (आर्थिक अभियान)

Translate »