१९ वर्ष २ महिना केन्द्रीय कारागार बसेर छुटे चार्ल्स शोभराज

पुस ८, काठमाडौं । सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका छन् ।

बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् ।बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

कारागार नियमावली, २०२० को नियम २९ ९२ क० ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।चार वर्षअघि नै शोभराज उमेरले ७४ वर्ष पुगिसकेका थिए । कारागार नियमावलीअनुसार शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए ।

तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश हुने गरेको थियो ।

अदालतले १२ फागुन २०७५ मा मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले किन कैद सजाय मिनाहा किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको थियो ।

पछिल्लो पटक फेरि बन्दी प्रत्यक्षीकरणको रिट पर्‍यो । उनले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगेका थिए । त्यसको सुनुवाइका क्रममा बुधबार न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले सर्वोच्चको परामादेश कार्यान्वयनमा वेस्वाता गरेको नोट गर्‍यो । र, केन्द्रीय कारागारले ७ असार २०७९ मा उनीबारे पठाएको पत्रलाई पनि आधार बनाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो ।

चालचलनलाई आधार बनाएर कैद भुक्तानीमा छुट दिन उनी यसअघि दुई पटक सिफारिसमा पनि परेका थिए ।

पुनरावेदन अदालत, पाटनले २७ वैशाख २०७३ मै शोभराजलाई गोलघरमा नराखी कारागारभित्र उपयुक्त ठाउँमा राख्न आदेश दिएको थियो ।

तर हालसम्म उनी गोलघरमा राखिएका थिए । गोलघरलाई कारागारभित्रको पनि कारागार भनेर चिनिन्छ, जहाँ सुरक्षा खतरा भएका वा अन्य कैदीबन्दीलाई असर पुर्‍याउन सक्ने व्यक्तिलाई राखिन्छ ।

केन्द्रीय कारागारले चाहिँ अत्याधिक चापका कारण कारागारभित्र उपयुक्त स्थानको छुट्टै व्यवस्था नहुँदा गोलघरभित्रै राखिएको बताउने गरेको थियो । (अनलाइन खबर)

Translate »