कहरलाई रहर बनाऊँ !

प्राकृतिक सम्पदाले भरिपूर्ण कर्णालीको भौतिक पूर्वाधार विकासका लागि राज्यले ठोस योजना नबनाउँदा अहिलेपनि अन्य प्रदेशको तुलनामा पछाडी पारिएको छ । जल , जंगल, जडिबुटि, कृषि, उद्योग, जलस्रोत र रत्नपत्थर जस्ता प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना बोकेको कर्णालीलाई भौगोलिक विकटताको उपनाम दिएर राज्यले नै पूर्वाधार विकासमा पछाडी पारेको हो । स्थानीय कृषिजन्य उत्पादनलाई निरुत्साहित बनाउँदै आयातित खाद्यन्नको परनिर्भतालाई बढाएर कर्णालीमा काम गरिखाने नागरिकलाई रोग, भोग र गरिवीले ग्रसित रहेको भन्दै निकम्मा बनाउने काम राज्यबाटै हुँदै आएको छ । राज्यको लगानी कर्णालीको रोग, भोग र गरिवी उन्मूलनका नाममा तथाकथित बाँठाटाँठा केही व्यक्ति, एनजीओ तथा आईएनजीले आफ्नो कमाईखाने उर्वरभूमी बनाएका छन् । संघीयता पश्चात पनि कर्णालीको पूर्वाधार विकास गर्नुको सट्टा राज्यले यहाँका आम नागरिकलाई दिनप्रतिदिन गरिवीको रेखामुनि धकेली रहेको छ । राज्यको अधिकांस समय, स्रोत र शक्ति आम नागरिकमा रहेको रोग, भोग र गरिवी उन्मूलनका नाममा बर्वाद गर्नु बाहेक अरु कुनै उपलब्धी देखिदैन् ।  रोग, भोग र गरिवी उन्मूलनमा देशका राजनीतिक दलहरुमा समेत कुनै ठोस खाका र योजना बनाएको देखिदैन् ।

राजनीति दलहरुलाई आफ्नो सत्ता र कुर्ची टेकाउने बाहेक भौतिक पूर्वाधार विकास तथा आम नागरिकको गरिवी हटाउने बारे सोच्नै सक्दैनन् । बरु उनीहरु रोग, भोग र गरिवीलाई भजाएर सत्ताको शिखरमा पुग्ने भ¥याङ बनाई रहेका छन् । कर्णालीलाई विभिन्न समस्याले ग्रसित रहेको देखाउँदै आम मेहनशील नागरिकका नाममा राजनीति गर्ने चलन बढेको देखिन्छ । कर्णालीका अधिकांस ग्रामीण बासिन्दाको मुख्य पेशा अहिले पनि परम्परागत कृषि प्रणाली नै रहेको छ । पूर्वाधार विकास गर्दै नगर्ने, अनि अति विकट बनाएर कर्णालीका नागरिकको मौलिक अधिकारलाई समेत हनन हुने गरि राज चलाउने नीतिले सकस बनाएको हो । उसो त कर्णाली प्रदेश प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र होइन, अमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुसँगै जलविद्युतको पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिब बनाईएको छ । नेपालकै सबैभन्दा ठूलो ताल रारा गहिरो ताल फोक्सण्डो र विश्वप्रसिद्ध बुलबुले ताल यहीँ प्रदेशमा पर्दछन । नेपालकै सबैभन्दा लामो नदी कर्णाली र ठूलो झरना पंचाल झरना पनि कर्णालीमै पर्दछन् । नेपालकै दुर्लभ मानिने कस्तुरी मृग रातो पाण्डा डाँफे आदि पशुपंक्षी पाइनुको साथै (जीवन वुटी) यार्सागुम्बा, पाँचऔले (हातेजडी), शिलाजित जस्ता थुप्रै औषधी जन्य जडीबुडी प्रशस्तै पाइन्छन् । कर्णाली प्रदेश नेपालको सबैभन्दा ठूलो प्रदेश हो ।

राष्ट्र भाषाको उद्गम स्थल सिजाउपत्यका पनि यही प्रदेशमा पर्दछ । विश्वकै अग्लो स्थानमा फल्ने जुम्ली मार्सिधान कर्णाली प्रदेशको जुम्ला जिल्लाको छुमचौर जिउलामा फल्दछ । त्यस्तै जुम्लामा फल्ने ओखर स्याउ र स्याउबाट बनेका विभिन्न ब्रान्डहरु विश्वबजारमा प्रख्यात छन् । नेपालको भौगोलिक राजनीतिक आर्थिक सामाजिक रुपले पछाडि पारिएको तर प्राकृतिक सांस्कृतिक ऐतिहासिक दृष्टिकोणले अति नै धनी कर्णालीको आफ्नै पीडा र बेदनाहरु बन्न पुगेका छन् । कर्णालीमा स्रोत छ, साधन र पहिचान छैन । स्वर्गकी अप्सरा रारा त्यस्तै फोक्सुण्डो ताल छ त्यसको विकास भएको छैन । ‘सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिदै छ कर्णाली आज ।’ विकासको अधिकतम सम्भावना र चुनौती बोकेको मूर्त कर्णाली बेदनाको भुमरीमा फसेर अबोध पीडाका साथ छट्पटाइरहेको छ । अब नयाँ बन्ने प्रदेश तथा संघीय सरकारहरुले कर्णालीका लागि विशेष खाका तयार पारेर योजनाबद्ध पूर्वाधार विकास निर्माणमा जुट्नु पर्छ । अब सारा देशको ध्यान कर्णालीतर्फ केन्द्रित गर्न कर्णालीका नागरिकहरु समेत समक्ष र सवल बन्न आवश्यक बनि सक्यो । त्यसका लागि हरेक मूल्य चुकाएर भएपनि कर्णालीको विकास विना देशको विकास हुनै सक्दैन भन्ने मूल्य मान्यता स्थापित गराएरै छाड्नु पर्छ । त्यसैले कर्णालीको कहरलाई रहर बनाएर आउँदो पाँच वर्ष पूर्वाधार विकासमै जुटौं ।

 

Translate »