सुर्खेत विमानस्थलमा एटिआर–७२ जहाजबाट आजदेखि उडान सुरु

पुस १, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर–७२ जहाजबाट शुक्रबारदेखि नियमित उडान सुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२ जहाजमार्फत काठमाडौं–सुर्खेत–काठमाडौं रुटमा नियमित उडान प्रारम्भ गरेको हो । उक्त गन्तव्यमा आजदेखि एटिआर जहाजमार्फत नियमित उडान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान सञ्चालन गरिएको भएको हो । प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुद्ध एयरको एटिआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए । बुद्ध एयरको एटिआर ७२ जहाजले काठमाडौं–सुर्खेत गन्तव्यमा दैनिक एक उडान गर्नेछ ।

यसअघि कम्पनीले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत उक्त गन्तव्यमा दैनिक एउटा उडान गर्दै आएको थियो । ठूला जहाजमार्फत उडानले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासका सहयोगी हुने विश्वास लिइएको छ । एटिआर–७२ जहाजमार्फत नियमित उडान भएपछि उक्त रुटको हवाई भाडा पनि सस्तो हुने प्राधिकरणका प्रवक्ता निरौलाको भनाइ छ ।

हाल काठमाडौं–सुर्खेतसम्मको हवाई भाडा १४ हजार रुपैयाँसम्म तोकिएको छ । ठूला जहाजमार्फत उडानका लागि विमानस्थलको क्षमता विस्तार गरिएको प्राधिकरणले जनाएको छ । यसअघि कोभिड–१९ महामारी पूर्व निजी क्षेत्रको श्री एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको थियो । कोभिडपछि भने उक्त गन्तव्यमा नियमित उडान हुन सकेको थिएन । यद्यपि बजारको अवस्था हेरी छिट्टै उक्त गन्तव्यमा उडान सञ्चालनको योजना रहेको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले बताए ।

बुद्ध एयरको नियमित उडानपछि यती एयरको एटिआर जहाजले पनि उडान भर्ने प्राधिकरणले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सुर्खेतमा एटिआर जहाजले उडान गर्ने योजना रहेको बताए ।

बुद्ध एयरले सन् २०१३ को फेब्रुअरी १ बाट बिचक्राफ्ट १९०० डी (१८ सिट) बाट सुर्खेत उडान सुरु गरेको थियो भने विगत पाँच वर्षदेखि एटिआर–४२ बाट नियमित उडान सञ्चालन गर्दै आएको थियो । एटिआर–७२ जहाजमार्फत उडान सञ्चालन गर्दा काठमाडौं–नेपालगञ्ज रुटको हाराहारीमा न्यूनतम भाडादर कायम हुने कम्पनीले जनाएको छ ।

Translate »