३० वर्षपछि हारे विजय गच्छदार, देउवाका नाममा बन्यो दुर्लभ रेकर्ड !

काठमाडौं । भ्रष्टाचारको आरोप लागेर मुद्दा लडिरहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी -३ मा पराजित भएका छन् । लगातार सातौं पटक संसद छिर्ने दाउमा रहेका गच्छदारलाई उनकी चिरपरिचित प्रतिद्वन्दी नेकपा एमालेकी नेतृ भगवती चौधरीले पराजित गरिन् ।

यस अघि सम्पन्न दुई ओटा निर्वाचनमा गच्छदारले तिनै चौधरीलाई झिनो मतान्तरमा पराजित गरेका थिए । दुवै निर्वाचनमा ३०० हाराहारी मात्रै मतान्तर रहेको थियो । मंगलबार साँझ सकिएको मतगणनामा भगवतीले गच्छदारलाई ५ हजार बढी मतान्तरले पछारेकी हुन्। मतगणना सकिएपनि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

चौधरीले तेस्रो प्रयासमा मात्रै गच्छदारलाई हराउन सफल भइन् । यो पटक उनलाई हराउन  उनी माथि लागेका भ्रष्टाचारका आरोप  नै मुख्य कारण भएको स्थानीयहरू बताउँछन् । दोस्रो उनी जतिपटक निर्वाचन जिते त्यति नै पटक मन्त्री बने । तर आफ्नो निर्वाचन क्षेत्रका लागि काम गरेनन् भन्ने स्थानीयहरूको भनाइ छ ।  जनताले परिवर्तनको पक्षमा मतदान गरेकाले आफू निर्वाचित भएको चौधरीको भनाइ छ ।

देउवाका नाममा बन्यो दुर्लभ रेकर्ड

गच्छदारले चुनाव हार्दा प्रधानमन्त्री शेर बहादुर देउवाका नाममा भने दुर्लभ रेकर्ड बनेको छ । लगातार सात पटक निर्वाचन जित्ने नेपालको एक मात्र व्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवा बन्नु भएको छ । देउवाले २०४८ पछिका सबै निर्वाचन जितेर दुर्लभ रेकर्ड बनाउनु भएको हो ।

किनभने यसपछिको पुस्ताले अब पुराना नेतालाई चुनाव जिताउने सम्भावना कम हुँदै गएको छ । यसै पटकको निर्वाचनमा पनि पुराना नेतालाई मतदाताले आच्छु आच्छु पारिसकेका छन् ।

परिवर्तनको पक्षमा देखिएको यो जनलहरका कारण पनि अब अहिले ५/६ पटक चुनाव जितिसकेका, ६०/७० वर्ष पुगिसकेका नेतालाई आउने चुनाव जितेर देउवाको नाममा बनेको रेकर्ड ब्रेक गर्न त्यति सहज देखिंदैन । आर्थिक अभियान

Translate »