सहज छैन देउवालाई सत्तारोहण, दल र गठबन्धन तगारो !

 

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका ७ ओटा  निर्वाचन क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहँदा प्रधानमन्त्री बन्न विभिन्न नेताले सक्रियता देखाएका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पनि नेताहरू भेटघाटमा व्यस्त छन् । कांग्रेसबाट प्रधामन्त्रीका आकांक्षी उनी मात्रै होइनन्, महामन्त्री गगन थापादेखि पूर्वमहामन्त्री डा. शशांक कोइरालासम्म छन् । संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा, वरिष्ठ नेता डा. शेखर कोइराला, नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री डा. शशांक कोइराला आकांक्षी छन् ।

महामन्त्री थापा र नेता सिंहले चुनावताका नै आफू प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए । थापाले चुनावताका आफू प्रधानमन्त्रीको दाबेदार भएको र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्ने भन्दै चुनावमा भोट मागेका थिए । उनले  आगामी निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको बताएका थिए ।

महामन्त्री शर्माले अमेरिकाको नर्दन क्यालिफोर्नियामा नेपाली जनसम्पर्क समिति, अमेरिकाले आयोजना गरेको कार्यक्रममा अर्का महामन्त्री थापाको प्रधानमन्त्रीको दाबीलाई बल पुग्ने खालको अभिव्यक्ति दिएका थिए । उनले महामन्त्री थापाले दाबी गरे ५० वर्ष उमेरमुनिकै प्रधानमन्त्री हुने र आफूले समर्थन गर्ने बताएका थिए । तर, थापालाई प्रधानमन्त्री बन्न त्यति सजिलो छैन ।

पहिलो कुरा, कांग्रसको विधानमै संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ । तर, संसदीय दलको नेता बन्नै उनलाई ‘फलामको चिउरा चपाउनु’सरह छ । समानुपातिकतर्फको परिणाम नआएको भएपनि प्रत्यक्षतर्फ अधिकांश देउवापक्षीय नेता संसदमा आएको बताइन्छ ।

अर्कोतर्फ महाधिवेशनमा एकै पदमा दुई फरक फरक प्यानल नै बनाएर चुनावमा गएका शर्माले थापालाई नै समर्थन गर्छन् भन्ने आधार छैन । चुनावमा जनमत लिन बोलिएका वाक्य जे भएपनि यी दुई आफैमा प्रतिस्पर्धी हुन् । देउवाको विकल्प खोज्नेसम्म एकमत भए पनि विकल्प दिनेबेला यी प्रतिस्पर्धी नै हुन् । यस अर्थमा थापालाई सहज छैन ।

भावी प्रधानमन्त्री पाउने सर्तमा देउवालाई पार्टी महाधिवेशमा सभापतिमा सहयोग गरेको आरोप लाग्दै आएका नेता सिंह पनि प्रधानमन्त्रीकै रेसमा छन् । उनले सार्वजनिक रूपमा ‘गगन अझै बच्चै छ अबको प्रधानमन्त्री म नै हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।

यता अर्का नेता शशांक कोइरालाले समेत प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्दै आएका छन् । ‘मान्छेले राजनीति किन गर्छ ? राजनीति गरिसकेपछि सबैभन्दा माथिल्लो तहमा जाने चाहना हुन्छ,’ उनले भने । यता उनकै दाइ शेखर कोइराला पनि प्रधानमन्त्रीकै प्रत्यासी छन् ।

१७ पटक प्रधानमन्त्री र एक पटक पार्टी सभापतिमा पराजित भइसकेका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीकै रेसमा छन् ।

केही समयअगाडि गृह जिल्ला तनहुँ पुगेर वरिष्ठ नेता पौडेलले ‘मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको’ भन्दै प्रधानमन्त्रीको प्रत्यासी भएको स्पष्ट संकेत गरिसकेका छन् ।
कम बोल्ने तर आफ्नो पोल्टामा निर्णय पार्न खप्पिस नेता देउवा कसरी तालमेल मिलाउँछन् ? त्यो त हेर्न बाँकी छ । कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले सभापतिको हिसावले कांग्रेसमा देउवाको प्रधानमन्त्रीमा पहिलो दाबी हुने र अर्को विकल्प खोज्नु परे आफू योग्य भएको भन्दै देउवाप्रति नरम देखिएका छन् । त्यस्तै, प्रकाशमानको पनि पदकै बार्गेनिङ भएको र अन्ततः देउवालाई नै सहयोग गर्ने सम्भावना रहेको छ । कांग्रेसले राष्ट्रपति पद पाएमा अर्का नेता रामचन्द्र पौडेललाई यता सेट गरी देउवाले आफ्नो पोल्टामा पार्न सक्नेछन् । यदि यस्तो भएको अवस्थामा देउवा कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्नेछन् ।

पार्टीका थुप्रै आकांक्षीलाई व्यस्थापन गरी आफू संसदीय दलको नेता भए पनि प्रधानमन्त्री बन्न भने देउवालाई त्यति सहज छैन । हाल सार्वजनिक मत परिणामले एकल बहुमतको सरकार बन्ने अवस्था छैन । यो अवस्थामा कांग्रेसले अन्य पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने देखिन्छ ।

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५८ नतिजा सार्वजनिक हुँदा कांग्रेसले ५३ सिट जितेको छ भने नेकपा एमालेले ४२ क्षेत्रमा विजयी भएको छ । नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी)को १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले ७–७ क्षेत्रमा जित हासिल गरेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नेपाल मजदुर किसान पार्टीले १–१ सिट जित्दा स्वतन्त्र उम्म्ेदवारहरूले ५ क्षेत्रमा जित हासिल गरेका छन् ।

नतिजा आउन बाँकी ७ सिटमध्ये ४ मा गणना भइरहेको छ भने ३ मा गणना हुन बाँकी छ । गणना भइरहेका क्षेत्रमध्ये कांग्रेसले ३ मा अग्रता लिँदा एमाले उम्मेदवार १ क्षेत्रमा अगाडि छन् । अग्रता लिएका क्षेत्रमा कांग्रेस र एमालेले जिते उनीहरूको क्रमशः ५६ र ४३ सिट हुनेछ ।

समानुपातिक निर्वाचनको मतगणना पनि अन्तिम चरणमा छ । सोमवार अपराह्न ४ बजेसम्मको समानुपातिकतर्फको ९३ लाख ४५ हजार ३५६ मत गणना हुँदा एमालेले २७.२२ प्रतिशत, कांग्रेसले २५.७४ प्रतिशत, माओवादी केन्द्रले ११.४८ प्रतिशत, राष्ट्रिय स्वतन्त्र पार्टीले ११.३९ प्रतिशत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५.८४ प्रतिशत र जनता समाजवादी पार्टी (जसपा)ले ३.५३ मत पाएका छन् । अन्य पार्टीले भने ३ प्रतिशतको थ्रेस होल्ड पार गरेका छैनन् । यस आधारमा कांग्रेसको एकल बहुमत पुग्ने देखिदैन । उसले अरु दलसँग मिलेर सरकार बनाउनुपर्ने देखिन्छ । तर, अरु दलसँग सरकार बनाउन त्यति सहज देखिँदैन ।

चुनावअघि १०/१५ वर्ष गठबन्धन मिलेर जाने भाषण दिएका गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी नतिजा सोचेअनुरुप नआएको भन्दै गठबन्धन टुट्ने संकेत गरिसकेका छन् । उनले गोरखाबाटै नयाँ ढंगले सोच्ने बेला आएको बताएका थिए । चुनावी सभामा बोल्दै धेरै जसो कांग्रेसका नेतालाई राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री बनाइदिने तुरुप फाल्दै हिँडेका दाहालले आफ्नै पोल्टामा सिक्वेन्स

मिलाउने दाउमा छन् । उनले मुलुकको समृद्धि र विकासका लागि आफू प्रधानमन्त्री हुन चाहेको धारणा पटक–पटक सार्वजनिक गर्दै आएका छन् । चुनावी परिणाममा खुम्चिँदै गएको माओवादीका लागि यो यात्रा कति सहज होला ? त्यो भने हेर्न बाँकी छ । यद्यपि उनको यो भनाईमा सत्यताभन्दा बढी आगामी सरकारको मन्त्रिपरिषदमा ठूलो भाग खोज्ने फण्डा पनि हुनसक्छ ।

माओवादी केन्द्रले नै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेको छ । पार्टी सचिव डिलाराम आचार्यले आज न्यूज एजेन्सी नेपालसँगको अन्तरवार्तामा प्रधानमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।
यता नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका माधवकुमार नेपालले समेत घुमाउरो पारामा वाम गठबन्धन नै चाहिने उद्घोष गरिसकेका छन् ।

यता एमालेका अध्यक्ष ओली पनि सत्तारोहणकै दाउमा देखिन्छन् । चुनावमा विजयी भएसँगै माओवादी अध्यक्ष दाहाललाई बधाई दिंदै सम्बन्ध सुधार गर्ने दाउमा रहेका उनी स–साना पार्टीसमेत सत्ता गठबन्धन गर्ने दाउमा छन् । यदि स–साना दल र माओवादीलाई चित्त बुझाउन सके देउवाको सत्तारोहण गर्ने दाउ ‘फेल’ हुन सक्छ । आर्थिक अभियान

Translate »