सहकारी डिप्लोमा कोर्ष सञ्चालन हुने

काठमाडौं: राष्ट्रिय सहकारी महासंघ र काठमाडौं विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्ष संचालन गर्ने विषयमा सम्झौता भएको छ । पुस १ गतेदेखि सहकारी व्यवस्थापन सम्बन्धी डिप्लोमा कोर्ष काठमाडौं विश्वविद्यालयका विज्ञ प्राध्यापकहरुद्वारा सञ्चालन हुने भएको छ ।

महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डिन प्राडा देवी विडारीले सम्झौता पत्रमा हस्ताक्षर गरे । विश्वविद्यालयको सिकाई अध्यापनशास्त्रमा आधारित कार्यक्रम पद्धतिलाई अनुशरण गरेर कोर्ष संचालन गर्नेछ ।

महासंघका महाप्रबन्धक सुब्बाले सहकारी संघ/संस्थामा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गरी अब्बल रुपमा संचालन गर्नका लागि यो कोर्ष कोशेढुङ्गा सावित हुने बताइन् । नेपालमा पहिलो पटक विश्वविद्यालयको सहकार्यमा सहकारीको डिप्लोमा कोर्ष संचालन हुन लागेको भन्दै महाप्रबन्धक सुब्बाले यस अघि नेपालबाट सहकारीको डिप्लोमा गर्नका लागि भारत जानुपर्ने वाध्यता अब अन्त्य भएको बताइन् ।

तीन महिने कोर्ष पूरा गरेपछि विश्वविद्यालयले प्रमाणित गर्ने सट्टिफिकेट हुने भएकाले यसमा आकर्षण बढेको छ । पहिलोपल्ट सीमित सिटमा कोर्ष पाइलटिङका रुपमा सञ्चालन गर्न लागिएको सो कोर्षको पहिलो ब्याजका लागि आवेदन दिनेको संख्या उत्साहप्रद भएको सुब्बाले बताइन् ।

डिन वेडारीले महासंघसँग मिलेर सहकारी व्यवस्थापन सम्बन्धी दक्ष जनशक्ति निर्माण गर्ने कोर्ष संचालन गर्न पाएकोमा खुसी व्यक्त गरे । विश्वविद्यालयले यस्तो सम्झौता गरेर कोर्ष सञ्चालन गरेको यो पहिलो पटक भएको बताए ।  केयुका उद्यमशिलता तथा मार्केटिङ विभागका प्रमुख डा विनोद कृष्ण श्रेष्ठले प्राज्ञिक विषयवस्तुका साथै समूह कार्य, र इन्टरसिप लगायतका प्रयोगात्मक विधिबाट सो कोर्ष अध्यापन गराइने बताए ।

पहिलो ब्याजमा ३० जनाको सिट रहेको महासंघले जनाएको छ । महासंघले यस अघि पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर कोर्ष डिजाइन गर्नेदेखि गरीवि निवारणमा सहकारीको योगदान सम्बन्धी अध्ययन अनुसन्धान  गरेको छ । अन्नपूर्ण पोष्ट

Translate »