सुर्खेतमा आठौं उद्योग दिवस मनाईयो

स्काई न्यूज /मंसिर ९, सुर्खेत । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले आठौं उद्योग दिवस विविध कार्यक्रम गरि मनाएको छ । महासंघले दिवसको अवसर पारेर शुक्रबार वीरेन्द्रनगरमा लघु घरेलु तथा साना उद्यमीहरु वीच शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा लघु घरेलु तथा साना उद्यमीहरुले अवसर र चुनौतीका बारेमा छलफल गरेका थिए । सरकारले औद्योगिक प्रबर्द्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण गरि जनचेतना अभिवृद्धि गर्न उनीहरुले माग गरेका छन् ।

सरकारले यस वर्ष आठौं उद्योग दिवसलाई ‘औद्योगिक लगानी र पूर्वाधारः समृद्विको बलियो आधार’ भन्ने नारा अघि सारेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले समेत शुक्रबार दिवसको अवसर पारेर सरसफाई कार्यक्रम गरि मनाएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र औद्योगिक वातावरण सिर्जना गर्नका लागि विभिन्न ऐन नीतिमा सुधार गर्नुका साथै उद्योगीको मनोबल वृद्धि गर्ने जस्ता कुरालाई प्राथमिकतामा राखेको छ । यद्यपी औद्योगिक विकास भने अपेक्षित रुपमा हुन सकेको छैन ।

प्रदेशको अर्थतन्त्रमा उद्योगको योगदान १८ प्रतिशतसम्म पुगेको देखिन्छ । तर, गत आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने उद्योगको योगदान १२÷१३ प्रतिशतमा सीमित छ । यो समयपछि कृषि र उद्योगक्षेत्रको योगदान घट्दो क्रममा देखिन्छ भने सेवाक्षेत्रको योगदान निरन्तर बढ्दो छ । यस परिप्रेक्ष्यमा उद्योगको सम्मान र औद्योगिक वातावरण सिर्जनाका लागि बहस गर्न आवश्यक रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर विसी बताउँछन् ।

उनले प्रदेशमा स्वदेशी उद्यम र उत्पादनलाई दिगो बनाउँदै औद्योगिक वातावरणको अवस्थामा सृजना गर्नसके मात्र उद्योग दिवस मनाउनुको सार्थकता हुने जिकिर गरे । ‘तीव्र गतिमा लगानी विस्तार गर्नुपर्नेछ । त्यसका लागि प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेछ,’ उनले भने ।

Translate »