बढी आयकर तिर्ने कर्णालीका पाँच व्यवसायीलाई सम्मान

स्काई न्य्रूज /मंसिर ७, सुर्खेत । आन्तरिक राजश्व कार्यालय सुर्खेतले बढी आयकर तिर्ने कर्णालीका पाँच व्यवसायीलाई सम्मान गरेको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसर पारेर आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सुर्खेतका प्रमुख कोष नियन्त्रक गोपीचन्द्र भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाही र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत हरिप्रसाद तिमिल्सेनाले बढी आयकर तिर्ने कर्णालीका पाँच व्यवसायीहरुलाई सम्मान गरेका हुन् ।

कार्यालयबाट सम्मानित हुनेमा ज्वाला कलर बैंक एण्ड अर्डर सप्लायर्स सुर्खेतका प्रोपाराईटर कमलप्रसाद जैसी, माँ मनोकामना इन्टरप्राईजेज एण्ड अर्डर सप्लायर्स दैलेखका प्रोपाराईटर रविन कायस्थ, रमेश अटो सप्लायर्स एण्ड सर्भिसिंङ सेन्टर जाजरकोटका प्रोपाराईटर रमेश केसी, मुक्ति डोमा जनरल स्टोर्स हुम्लाका प्रोपाराईटर टेकबहादुर लामा र मौसम एण्ड हरिस निर्माण सेवा डोल्पाका प्रोपाराईटर गणेशबहादुर शाही रहेका छन् ।

दिवसको अवसर पारेर आन्तरिक राजश्व कर्याालयमा कार्यरत कर्मचारी मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने डाईसु निर्मला गिरीलाई नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । सप्ताह व्यापी विभिन्न कार्यक्रम गरि मनाईएको राष्ट्रिय कर दिवस यस वर्ष ‘स्वैच्छिक सहभागिता सहितको फराकिलो कराधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नारा रहेको थियो ।

कार्यक्रममा कर शिक्षाको माध्यमबाट स्वैच्छिक कर सहभागितामा जोड दिएर कराधार फराकिलो बनाउँदै जानेमा जोड दिईएको थियो । राष्ट्रिय कर दिवसमा निजी क्षेत्रलाई केन्द्र विन्दुमा राखेर आम नागरिकमा कर सम्बन्धी जागरण फैलाउँदै करको दायरा थप विस्तार गरि गुणस्तरिय सेवाप्रवाहबाट स्वैच्छिक कर अभिबृद्धि हुनेमा आशावादी रहेको आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत तिमिल्सेनाले बताए ।

Translate »