व्याज विरुद्धको आगोका झिल्काहरु अझै बुझेका छैनन्, भित्रभित्रै बलिरहेका छन : अध्यक्ष लक्ष्मण कँडेल

‘बैंकहरूको ज्यादतीलाई केन्द्रीय बैंकले मौन समर्थन गरिरहेको छ’

स्काई न्यूज /कार्तिक २८, सुर्खेत । सुर्खेतबाट शुरु भएको अस्वाभाविक व्याज विरुद्धको आन्दोलन अहिले देशभर फैलिएको छ । व्यवसायी तथा उद्यमीबाट स्वस्फुतरुपमा अघि बढेको व्याज विरुद्धको आन्दोलन पछि विभिन्न व्यवसायी संघ, संगठन एवं संस्थाको नैतिक समर्थनसँगै भौतिक उपस्थितिमै चर्किदै गएको हो ।

अहिले देश निर्वाचनको अन्तिम क्षणमा पुगिसकेकाले आन्दोलनका केही भाग मन्थर जस्तो देखिएपनि चर्को व्याजबाट उत्पन्न आगोका झिल्काहरु भित्र भित्रै बलिरहेका छन् । सरकारले उद्योगी व्यवसायीहरुको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघ मार्फत आन्दोलनलाई हाल स्थगत गर्न लगाएपनि बलिरहेको झिल्काहरुले जतिबेला पनि ठूलो रुप लिन सक्ने बैंक तथा सहकारीका व्याज पीडितहरु बताउँछन् ।

कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा वृद्धि र उद्योगी, व्यवसायीलाई कालोसूचीमा राख्ने कार्यप्रति सुर्खेत उद्योग वाणिज्य संघले शुरुदेखि नै आपत्ती जनाउँदै आएको छ । संघका अध्यक्ष लक्ष्मण कँडेलले देशको अर्थतन्त्र अहिले असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको बताउँछन ।

‘एकातिर बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक उद्योगलाई ऋण प्रवाह गरिरहेका छैनन्, अर्कोतर्फ मनोमानी ढंगले चर्को रुपमा ब्याजदर बढाइरहेका छन्,’ उनले भने, ‘परिणामस्वरुप बजार भाउ अप्रत्याशित रुपमा उकालो लागिरहेको छ ।’

उनले प्रतिकूल बैंकिङ नीति र बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदरमा गरेको अत्यधिक वृद्धिले उद्योेग व्यवसाय संकटमा पर्दै गएको जनाए । यसबाट मुलुकको अर्थतन्त्र अस्तव्यस्त बन्न पुगेको उनको भनाइ छ ।

‘असहज परिस्थितिमा पनि सरकार र केन्द्रीय बैंक मुकदर्शक बनेर बैंकहरुले गरेका ज्यादतीलाई मौन समर्थन गरिरहेका छन्,’ उनले भने, ‘प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी (बाफिया) ऐन विपरीत निजीक्षेत्रका मुख्य छाता संस्थाका प्रमुख पदाधिकारी बैंकर पनि आफै र उद्योगी व्यापारी पनि आफै छन् ।’

उनले सरकार र माफियाहरुको मिलेमतोमा मफसलका साना उद्यमी तथा व्यवसायीलाई चर्को ब्याजदरमा पार्ने षड्यन्त्र गरिँदै आएको जिकिर गरे । चर्को व्याज विरुद्धको मूल्य आउँदो मंसिर ४ गते हुने निर्वाचनमा समेत देखिने उनको भनाइ छ । उनले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनु पर्ने औल्याए ।

Translate »