हुम्ला र मनाङमा नमूना मतदान

कात्तिक २३, हुम्ला । आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ । सात ओटा गाउँपालिका रहेको हुम्लामा शुक्रवार नाम्खा गाउँपालिकाबाट नमूना मतदान शुरू गरिएको हो । निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना मतदान अहिले जारी छ । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ र खार्पुनाथ गाउँपालिकामा कात्तिक २० गते नमूना मतदान गरिएको हो । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङ्चुमा नमूना मतदानमा कुल ३१ मत खसेकोमा ३० मत सदर र एक मत बदर भएको थियो ।

त्यसैगरी सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा कात्तिक २५ गते, चंगेली गाउँपालिकाको केन्द्र पिप्लाङमा २७ गते, सिमकोट गाउँपालिकाको सिमकोटमा २८ गते, अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कात्तिक २९ गते र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा कात्तिक ३० गते नमूना मतदान हुनेछ । त्यसैगरी मनाङमा पनि नमूना मतदान सञ्चालन गरिएको छ ।

मंगलवार जिल्लाका चार ओटै पालिकामा नमूना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । ‘स्थानीय तह निर्वाचनमा बदर मत बढी भएकाले यसपटक बदर मत न्यूनीकरणका लागि नमूना मतदान गरिएको हो,’ उनले भने । निर्वाचन कार्यालय मनाङका अनुसार सदरमुकामस्थित चामे गाउँपालिका कार्यालय प्रांगणमा नमूना मतदान भएको छ भने यसअघि नासों, मनाङ ङिस्याङ, र नार्पाभूमि गाउँपालिकामा नमूना मतदान भइसकेको छ । रासस

Translate »