सुर्खेतका १० उद्योग तथा फर्मलाई कार्वाही

स्काई न्यूज /कार्तिक १७, सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले मापदण्ड पुरा नगरि गुणस्तरहिन वस्तु उत्पादन तथा विक्री वितरण गर्ने १० वटा उद्योग तथा फर्मलाई कार्वाही गरेको छ । कार्यालयले पछिल्लो तीन महिनाको अवधिमा सुर्खेतका ती मापदण्ड विपरित दश उद्योग तथा फर्मलाई सिल गरेर उत्पादन तथा विक्री वितरणमा रोक लगाएको हो ।

कार्यालयले पहिलो चौमासिक भरी अनुगमनका क्रममा डेढ लाख मूल्यका खान अयोग्य खाद्यवस्तुहरु जफत गरी नष्ट गरेको जानकारी दिएको छ । विहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको प्रथम त्रैमासिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख भेषबहादुर थापाले पछिल्लो तीन महिनामा कर्णालीका दशै वटै जिल्लामा २ सय ४८ वटा बजार अनुगमन गरिएको बताए ।

उनले न्यून साधनस्रोतसँगै २१ जना दरबन्दी रहेको कार्यालयबाट हाल ६ जनाले कर्णाली प्रदेशका ७ जिल्लाभर बजार नियमन तथा अनुगमन गर्नुपर्ने बाध्यता रहेको जनाए । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव जीवनको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको क्षेत्रमा न्यून साधनस्रोतका वावजुद कार्यालयले सन्तोषजन कार्य गरिरहेको प्रति धन्यवाद व्यक्त गरे ।

उनले तेल, दुध तथा पानीजन्य वस्तुहरुमा मिसावट भएका गुनासा बढी आउने भएकाले अनुगमन बढाउन सुझाव दिए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले उपभोक्ता सचेतना बढाउने कार्यसँगै बजारमा सुशासन कायम गराउने कार्यमा संघ सबैसँग हातेमालो गर्न तयार रहेको जिकिर गरे । सुर्खेतका नागरिक अगुवा पीताम्वर ढकालले जनताको ज्यूधनसँग जुडेका क्षेत्रका लागि राज्यले लगानी बढाएर सचेतना फैलाउनु पर्नेमा जोड दिए ।

Translate »