भारतमा पुल भत्किँदा एक सय ४३ जनाको मृत्यु

एक हप्ताअघि मात्रै खुला गरिएको थियो पुल

गुजरात (भारत) । भारतको गुजरात राज्यमा सय वर्ष पुरानो एउटा पुल भत्किँदा १४३ जनाको मृत्यु भएको छ । आइतवार पर्वको रमाइलो हेर्न पुलमा मानिसहरुको भिड जम्मा भएको थियो । सो भिडलाई थेग्न नसकेर पुल भत्किँदा त्यहाँ भएका मानिसहरु नदीमा खसेर मृत्यु भएको हो ।

यो घटना गुजरातको मोरबी शहरमा मच्छु नदीमाथि रहेको एउटा सस्पेन्सन पुलमा भएको हो । दर्जनौं घाइते भएको बताइएको छ । उक्त पुल झन्डै एक शताब्दी पुरानो थियो । मर्मत सम्भारका लागि ६ महीनासम्म बन्द गरिएको सो पुल गत हप्ता मात्रै सर्वसाधारणका लागि खुला गरिएको थियो ।

नदीमा मानिसहरु हराएको हुन सक्ने आशंका गरिएको छ । पुल भत्किँदा पुलमा र वरपर झन्डै ४ सय जना मानिसहरु रहेको अधिकारीहरुले बताएका छन् । मर्नेहरुमा केटाकेटीहरु समेत रहेको बताइएको छ । गुजरातीहरुको नयाँ वर्षको बेलामा सो पुल आवागमनको लागि खुला गरिएको थियो ।

दिवालीको छुट्टी अनि आइतवार दुबै भएकोले घटनाको दिन पुलमा मानिसहरुको भिड थियो । यस घटनाको जाँचको लागि अनुसन्धान टोली खडा गरिएको छ । पुल १दशमलव २४५ मिटर चौडा र २३३ मिटर लामो थियो । घटना भएपछि दर्जनौं मानिसहरु पुलको तारमा झुन्डिएको टिभी फुटेजले देखाएको छ । ठूलो संख्यामा घाइते र बेपत्ता हुन सक्ने अधिकारीहरुले बताएका छ्न ।

अधिकारीहरुले १७७ जनाको उद्धार गरेको बताइएको छ । उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख रुपया र घाइतेहरुलाई ५० हजार रुपया दिने घोषणा गरिएको छ । गुजरातका मुख्यमन्त्री भूपेंन्द्र पटेलले पनि सो घटनामा मृत्यु भएकाहरुको परिवारलाई ४ लाख रुपया र घाइतेलाई ५० हजार रुपया राहत दिने घोषणा गरेका छन् । एजेन्सी

 

Translate »