कर्णाली राजमार्ग खुल्यो

कात्तिक ८, जुम्ला । असोज अन्तिम सातादेखि बाढीपहिरोले ठप्प कर्णाली राजमार्ग खुलेको छ । अविरल वर्षापछिको बाढीपहिरोले कर्णाली राजमार्गको ४० किलोमिटर खण्डमा पहिरो गएको थियो ।

कालीकोटको गगनेखोलादेखि जुम्ला खण्डको रारालिहीसम्म पहिरो खसेको थियो । राजमार्ग खुलेसँगै सवारीसाधन सञ्चालनमा आएका छन् ।

‘राजमार्गको दैलेखदेखि जुम्ला खण्डसम्मको १ सय ४ किलोमिटरमा ४० किलोमिटर सडक पूर्ण रूपमा ठप्प भएको थियो,’ सडक डिभजनका प्रमुख राजीव श्रेष्ठले भने,‘झन्डै साढे दुई हप्ताको कडा मेहनतपछि राजमार्ग खुलेको छ । अब साना सवारीसाधन सहजै रूपमा आवतजावत गर्न सक्ने भएका छन् । सडक बन्द हुँदा पैदल यात्रा गरिरहेका सर्वसाधारण नागरिकलाई सहज हुनेछ ।’

सोमबार राति साढे ८ बजेबाट कर्णाली राजमार्ग खुलेको सडक डिभिजन जुम्लाका प्रमुख श्रेष्ठले बताए । सडक खुलाउन ७३ जना लेन्थवर्करसहित एक सय बढी जनशक्ति खटिएको थियो । नेपाली सेना नन्दाबक्स गणबाट ५० जनाको सैन्य टोली परिचालन भएको थियो । पहिरो प्रभावित क्षेत्र रॉचुलीमा क्याम्प खडा गरेर सडक खुलाउन खटिएको थियो । इकान्तिपुर

Translate »