आज गाई पूजा

यम पञ्चक अर्थात् तिहारको चौथो दिन मंगलवार सुर्खेतसहित देशैभरका विभिन्न स्थानमा गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिकै विधि हो । हाम्रो समाजमा गाईलाई माताका रूपमा पुजिन्छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिएको हो ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा प्राप्त गर्ने भएकाले  दूध पोषिलो हुनाका साथै गहुँत र गोबरबाट पनि पनि शक्ति प्राप्त हुने भएकाले गाईको महत्त्वबारे आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । यसैकारण गाईलाई राष्ट्रिय जनावरका रूपमा पनि सम्मान गरिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठा–मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । यही मान्यताका आधारमा आज गाई पूजा गरिएको हो ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षावन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधिएको हो।

Translate »