नेतालाई भोटको चिन्ता : मतदाता शिक्षाप्रति कसैको चासो छैन

स्काई न्यूज /कार्तिक ५, सुर्खेत । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार र राजनीतिक दल यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् । मत हाल्ने दिन एक महिना मात्र हुँदा समेत मतदाता शिक्षामा कसैले चासो नदेखाएको मतदाताको गुनासो छ ।

यसपटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिन्हबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झन् बढेको हो । यस वर्ष सत्तासिन दलले छिटपुटबाहेकका निर्वाचन क्षेत्रमा आ–आफ्नै चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्नेगरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको हो ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८, की लक्ष्मी ओली कसरी मतदान गर्ने भन्ने अन्योलमै छिन् । मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा लक्ष्मीजस्ता धेरै मतदाता अहिले अलमलमा छन् । बराहतालकी हरिकला विश्वकर्मा पनि मतदानबारे जानकार छैनन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गाप्रसाद चालिसेले यसपटक मतदाता शिक्षा कार्यक्रम व्यापक गरिने बताएपनि हालसम्म आधिकारिक कार्यक्रम गरेको कुनै जानकारी छैन् ।

मतदान गर्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी हुने भएकाले आयोगबाट अहिलेसम्म छुट्टै विशेष कार्यक्रम गरेको देखिदैन् । मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमुना मतपत्र आइसकेको भएपनि उम्मेदवार प्रचारमै व्यस्त हुनुपरेकोले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको उम्मेदवारले बताएका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा थुप्रै मत बदर भएको थियो ।

लगानी धेरै, उपलब्धी कम

निर्वाचन आयोगले २०७४ को प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मतदाता शिक्षामा खर्च ग¥यो । तर, प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख ४२ हजार ७ सय ७७ मत बदर भयो । यो भने खसेको मतको ९.८४ प्रतिशत हो । प्रदेशसभाको समानुपातिकतर्फ १५ लाख ६८ हजार १ सय ९१ मत बदर भयो । जुन १४.८१ प्रतिशत हो । त्यही वर्ष भएको स्थानीय निर्वाचनमा भएको मत बदरसम्बन्धी यकिन तथ्यांक भेटिँदैन ।

किन हुन्छ त मत बदर ?

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढेको आयोगका पूर्वसचिव शारदाप्रसाद त्रिताल बताउँछन् । ‘मतदाता शिक्षा अभावले बढी मत बदर भइरहेको छ’, पूर्वसचिव त्रिताल भन्छन्, ‘आयोगले मतदाता शिक्षा त सञ्चालन गर्छ । तर, त्यो सञ्चालन गर्ने व्यक्ति÷समूहले राम्रोसँग काम गरिदिँदैनन् ।’ आधुनिक प्रविधिको प्रयोग गर्न हिचकिचाहटका कारण धेरै मत बदर भएको बताउँछन्, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती । उनका अनुसार विद्युतीय मतदान उपकरणको प्रयोगमा हिचकिचाहटदेखि मतपत्रको डिजाइन, रङ र मतदाता शिक्षाको अभावलगायत कारणले धेरै मत बदर भइरहेको छ । छाप लगाउने प्रक्रिया, मतपत्रको रङ, मसीको रङ, स्वस्तिक छापको रबरका कारण मत बदर हुन्छ ।

कहिलेकाहीं मतदान अधिकृत आत्तिएर वा भुलेर मतपत्रमा हस्ताक्षर गर्न बिर्सने गर्दा पनि मतपत्र बदर हुने गरेको उप्रेती बताउँछन् । आयोगका अनुसार मतदाताले स्वस्तिक छाप सही रूपमा लगाउन नजान्दा÷नचाहँदा मत बदर हुन्छ । यस्तै, एउटै चुनाव चिन्हमा धेरैपटक स्वस्तिक चिन्हको प्रयोग गरेको भेटिन्छ । स्वस्तिक चिन्हको सट्टा औंठाछाप लगाएको, चुनाव चिन्हमा डटपेनको प्रयोग गरेको पाइन्छ ।

तोकिएको घेराभित्र स्वस्तिक छाप पार्न नसक्ने, एउटै पदमा धेरै उम्मेदवारलाई मतदान गरेका मतपत्र भेटिन्छ । दलहरूबीच गठबन्धन गर्दा उम्मेदवारी फिर्ता भएकालाई पनि मतदान गर्ने गरेको आयोगका पदाधिकारी बताउँछन । अर्कातर्फ धेरै मतपत्रका कारण मतदाता अलमल भई कोठाभित्र सही रूपमा स्वस्तिक छाप लगाउन नसकेका मतपत्र बदर हुने क्रम बढेको जनाइएको छ ।

दलहरु पनि भएनन् गम्भीर

हरेक निर्वाचनमा ठूलो संख्यामा मत बदर भइरहे पनि राजनीतिक दलले ‘गम्भीरतापूर्वक’ लिएका छैनन् । दलहरुको संरचना गाउँ–गाउँसम्म हुन्छ । उनीहरुले राम्रोसँग मतदाता शिक्षा कार्यक्रम गर्दैनन् । आयोगका पूर्वसचिव त्रिताल पार्टीको संयन्त्र परिचालन गर्ने हो मत बदर स्वतः घटने बताउँछन् । ‘राजनीतिक दल सक्रिय हुनुपर्छ,’ उनी भन्छन्, ‘उनीहरूको संयन्त्र तल्लो तहमा छ । तर, उनीहरूको संयन्त्रले काम नगरेको अवस्था छ ।’

पश्चिम सुर्खेतका समाजसेवी काशीराम देवकोटा यसमा आयोग र दल दुवैको कमजोरी रहेको बताउँछन् । ‘मतदाता शिक्षा प्रभावकारी नहुँदा नै मत बदर भइरहेको छ,’ उनले भने, ‘मतदाता शिक्षा दिने दायित्व आयोग र पार्टीहरूको हो । आयोगले पनि प्रभावकारी रूपमा शिक्षा दिनुपर्छ ।’ मतदाता स्वयं पनि सचेत हुनुपर्ने उनी बताउँछन् ।

नो भोट खोइ ?

उम्मेदवार वा पार्टी मन नपरे कसैलाई पनि भोट नगर्ने भन्दै ‘नो भोट’को व्यवस्था मतपत्रमा राख्नुपर्ने माग पनि उठिरहेको छ । यससम्बन्धी व्यवस्थाका लागि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । पूर्वसचिव त्रिताल पनि ‘नो भोट’ को व्यवस्था राखिए बदर मत घट्न सक्ने बताउँछन । ‘नो भोट सिस्टम राख्ने हो भने बदर मत घट्छ,’ उनी भन्छन्, ‘अहिले मन नपरी–नपरी पनि भोट हाल्नुपरेको छ ।

त्यसैले कतिपयले जानीजानी पनि मत बदर गराइराखेका हुन्छन् ।’ दल, नेताको व्यवहार, क्रियाकपालले धेरै मतदाता निराश छन् । ‘भोट दिन नजाँदा पनि प्रश्न उठाउनेहरु हुन्छन् । त्यसकारण उनीहरुले दुई चिन्हको बीचमा भोट हालेर बदर गर्ने गर्छन,’ त्रिताल भन्छन् ।

Translate »