जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा ढुवानीमा खच्चडकै सहारा

अनिसा आचार्य / ३, जाजरकोट । जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहरा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएका यहाँका ग्रामीण सडकको मर्मत हुन सकेका छैन ।

जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा बढी समस्य देखिएको छ । ठाउँ–ठाउँमा सडक भत्किएका कारण पैदलयात्रा गर्नसमेत मुस्किल हुँदै गएको छ । तत्काल सडक सञ्चालन गर्नका लागि नदीमा पानीको मात्रा बढी भएकाले डोजर लैजान सक्ने अवस्थासमेत नरहेको बताइएको छ ।

भेरी करिडोरबाट जाजरकोट–जुम्ला जोड्ने सडक, कालीमटी–बारेकोट, खलंगा–कुशे सडक र बारेकोट, पश्चिम छेडाबजार जुनिचाँदे जोड्ने सडकमा समेत समस्या आएको छ । यी सबै ठाउँमा घोडा, खच्चड र स्थानीयवासी आफैंले बोकेर अत्यावश्यक सामग्री लैजानुको अर्को विकल्प नभएको सर्वसाधारण बताउँछन् । सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामग्रीसमेत महँगिएको बताइएको छ ।

बाटो अवरुद्ध भएसँगै निर्माण सामग्री लैजानसमेत समस्या भएको बताएको छ । बारेकोट गाउँपालिकाको बीचमा रहेको नलगाड नदीमा पुल नहुँदा सबैभन्दा बढी बारेकोट गाउँपालिकामा खच्चडकै भरमा विभिन्न सामग्री लिनुपरेको नायकबाडाका प्रेम शाहीले बताए । तिहार नजिकिँदै गर्दा गाडीमा गाउँ, गाउँमा पुग्ने सर्वसाधारणको सपना पूरा नहुने भएको छ ।

Translate »