आउने मंगलबार सूर्यग्रहण लाग्ने

काठमाडौं, कात्तिक ३ गते । आउने मंगलबार सूर्यग्रहण लाग्नेछ । खण्डग्रास सूर्यग्रहण नेपालको सबै भू–भागबाट पश्चिम–दक्षिण–पश्चिम भागमा देख्न सकिने विज्ञको भनाइ छ । बीपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका अनुसार नेपालबाट सूर्यास्तको समयमा क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न भने सकिने छैन ।

नेपालमा कात्तिक ८ गते मंगलबार साँझ ४ः५३ बाट खण्डग्रास सूर्यग्रहण लाग्नेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने बताइएकोछ । नेपालमा करिब ३३ मिनेट मात्र ग्रहण देखिने अब्जरभेटरीका निमित्त कार्यकारी निर्देशक एवम् खगोलविद् डा. सनतकुमार शर्माले बताए ।

के हो सूर्यग्रहण

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ । सूर्यग्रहण केवल चन्द्रमाको न्यून मून फेजमा मात्र लाग्न सम्भव हुने विज्ञ शर्माले जनाए । खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्छ ।

सूर्य पृथ्वीबाट लगभग १५ करोड कि।मी। टाढा छ । यसको ब्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ । चन्द्रमाको ब्यास पृथ्वीको एक चौथाइ मात्र छ । तौल तीन लाख ३३ हजार गुणा बढी छ । यसको बाहिरी सतहको तापक्रम लगभग ६ हजार डिग्री सेन्टिग्रेड र केन्द्रको तापक्रम एक करोड ५० लाख डिग्री सेन्टिग्रेड रहेको छ ।

सूर्य पृथ्वीको सबभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो । सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू आफ्नो कक्षमा परिभ्रमण गर्नका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छन् । पृथ्वी आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर परिभ्रमण गर्नुका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ ।

सामान्यतः व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छाँया पृथ्वीमा पर्न गएमा छाँया परेको स्थानमा सूर्यग्रहण लाग्न जान्छ । सूर्यग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुनसक्छ । पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछि मात्र लाग्छ । गोरखापत्र

Translate »