सुर्खेत आँखा अस्पताल सञ्चालक समिति विरुद्धको रिट खारेज

स्काई न्यूज /कार्तिक ३, सुर्खेत । नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पताल सञ्चालन समितिको पदाधिकारी नियम विपरित चयन गरिएको कार्यलाई बदर गर्न परेको रिट उच्च अदालत सुर्खेतले खारेज गरि दिएको छ । अदालतले सुर्खेत आँखा अस्पतालको सभापति र कोषाध्यक्ष पदमा निमावली वमोजिम मनोनयन गर्ने निर्णय अबैधानिक नहुँदा तथा कानूनी हक हनन भएको स्थिती नदेखिँदा रिट निवेदकहरुलाई कुनै अपूरणिय क्षति नहुने र आँखा अस्पतालको सेवा प्रवाहमा समेत कुनै असर नपर्ने भएकाले रिट खारेज गरेको हो ।

माग अनुरुपको आदेश गर्नुपर्ने समयको अवस्था विद्यमान नहुँदा प्रस्तुत रिट खारेज गरिएको उच्च अदालत सुर्खेतले जनाएको छ । रिट आँखा अस्पतालका निवर्तमान सभापति डाक्टर दीपबहादुर रावल र कोषाध्यक्ष टिकाराम आचार्यले दायर गरेका थिए । विपक्षीका तर्फबाट नेपाल रेडक्रस सोसाइटीका प्रमुख कानूनी सल्लाहकार अधिवक्ता मोहनप्रकाश पोखरेल, आँखा अस्पताल सुर्खेतका तर्फबाट अधिवक्ता दुर्गाप्रसाद सापकोटाले बहस गर्दै आईरहेका थिए ।

अदातलले रेडक्रस सोसाइटी केन्द्रीय समितिको २०७९/०३/ १६ गतेको ३१४ औं बैठकले आँखा अस्पताल सञ्चालन निमावली, २०७५ पहिलो संसोधन २०७७ को नियम ४.२ (घ) अनुसार सुर्खेत आँखा अस्पतालको सभापतिमा रामलाल आचार्य र कोषाध्यक्ष कुमारबहादुर ढकालको मनोनयन सदर भएको छ । रेडक्रसको विद्यान र निमावली वमोजिम गरेको कामलाई बदर गरि पाउँ भनि दिएको रिट खारेज भएपछि सुर्खेत आँखा अस्पतालका नवनियुक्त सभापति रामलाल आचार्यले अदालतको फैसलाको स्वागत गरे । उनले सबैको सहयोग तथा समन्वयमा आँखा अस्पतालको सेवा सुविधालाई थप स्तरोन्नती गरि अघि बढ्ने आफ्नो योजना रहेको जनाए ।

Translate »