चिनियाँ कम्पनीले दुबईमा परीक्षण गर्‍यो उड्ने इलेक्ट्रिक ट्याक्सी

दुबई (संयुक्त अरब इमिरेट्स) । एक चिनियाँ कम्पनीले दुबईमा उड्ने विद्युतीय ट्याक्सीको परीक्षण गरेको छ । सोमवार क्वाङचाउस्थित एक्सफेङ इंकको उड्ययन सम्बद्ध कम्पनीले विकास गरेको एक्सफेङ एक्स – २ नामक ट्याक्सीको परीक्षण गरिएको छ ।

यसले भविष्यमा कुनै सडकमा गुडिरहेका सवारी साधनहरुमाथि ट्याक्सी उडिरहेको मानिसको कल्पना साकार हुने आशा बढाएको छ । अहिले विश्वभर दर्जनौं उड्ने कार परियोजना चलिरहेको छ । एक्सफेङ एक्स – २ यिनै मध्ये एक हो ।

यात्रुहरुलाई नै सवारी साधनभित्र राखेर भने औंलामा गन्न सकिने केहिले मात्रै सफल परीक्षण गरेका छन् । उड्ने कार वा ट्याक्सीबाट सेवा उपलब्ध गराउन कयौं वर्ष अझै कुर्नुपर्ने छ । सोमवारको परीक्षणमा ककपिट भने खाली थियो ।

यसमा मानव सवार थिएनन् । तर सन् २०२१ को जुलाईमा आफूहरुले ट्याक्सी भित्र मान्छेलाई नै राखेर उडाएको कम्पनीले बताएको छ । विद्युतीय उड्ने कार वा ट्याक्सी हवाईजहाज वा हेलिकप्टर जस्तो गरी उड्दैनन् । यिनीहरुले ठाडै अवतरण र उडान गर्छन् ।

‘अहिले हामीले कल्पना मात्रै गरिरहेको चालक रहित विद्युतीय सवारी साधनले कुनै दिन सवारी साधनहरुको चाप थेगिनसक्नु बनेका सडकमाथि याात्रीहरुलाई उडान सेवा दिन सक्छन् । तर यो उद्योगसामु ब्याट्रीको आयु, हवाई ट्राफिक नियन्त्रण र सुरक्षा, पूर्वाधार समस्या लगायत अनेकौं चुनौतीहरु छन्’, कम्पनीले भनेको छ । एजेन्सी/आर्थिक अभियान

Translate »