कर्णालीको हवाई समस्या समाधान गर्न ध्यानाकर्षण

असोज ३१, जुम्ला । कर्णालीमा बाढी–पहिरोपछिको विपद्ले ठूलो विपत्ति ल्याएको छ । कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ । यो समयमा झनै जहाजको उडान नियमित नभएपछि जुम्ला समेत आक्रान्त भएको छ ।विमानस्थलमा एक सातादेखि भिडभाड बढेको छ । टिकटका लागि स्थानीय प्रशासन घेराउदेखि विभिन्न आन्दोलन समेत भइरहेका छन् । तर जहाजको उडान कम हुँदा सकस भइरहेको छ । नेपाल एयरलाइन्सले उडान तालिका घटाएको बताइएको छ तर तालिकाअनुसार एक हप्तामा जहाज नआउँदा समस्या भएको हो । यस अवसरमा कर्णालीवासीले पूर्वमन्त्री नरेश भण्डारीसहितको टोली पर्यटन मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएको छ ।

पूर्वमन्त्री भण्डारी, अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार मनऋषि धितालसहितको टोलीले पर्यटनमन्त्रीलाई औपचारिक पत्रसहित भेटघाट गरेको हो । ध्यानाकर्षण पत्रमा भनिएको छ,‘विगत केही दिनदेखिको अविरल वर्षाका कारण जुम्ला, कालिकोट, मुगु, हुम्ला लगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लामा मानवीय, बालीनाली, कृषियोग्य जमिन, पशुवस्तु तथा भौतिक संरचना (सडक, पुल, सिँचाइ, तटबन्ध, जलविद्युत्, खानेपानी, टेलिफोन टावर) हरूमा ठूलो क्षति भई जनजीवन कष्टकर भएको छ ।’

चार जिल्लाका विपद् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई नेपाल सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशील परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनी संवेदनहीन देखिएको पत्रमा भनिएको छ ।

माथिल्लो कर्णालीले करिब अघोषित नाकाबन्दीको अवस्था भोगिरहेको भन्दै ध्यानाकर्षण पत्रमा निजी वायुसेवा कम्पनीसँग समन्वय गरी तत्काल उडान सङ्ख्या वृद्धि गर्न र नेपाल एयरलाइन्सका टवीनअटर जहाजको सङ्ख्या थप गरेर दीर्घकालीन समाधान खोज्न अनुरोध गरिएको छ ।

कर्णालीको टिमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कर्णालीमा निजी एयरलाइन्स कर्णालीमा बढाउन पहल गरिने तथा नेपाल एयरलाइन्सको जहाज थपिने प्रतिबद्धता जनाए।
रासस

Translate »