१५ लाख नेपाली खाद्य असुरक्षाको जोखिममा

असोज ३१, काठमाडौं । नेपालमा १५ लाख मानिस खाद्य असुरक्षाको जोखिममा रहेको काठमाडौंमा आइतवार आयोजित एक कार्यक्रममा विज्ञले बताएका छन् । जमीन बाँझो राख्ने प्रवृत्ति बढ्दै जानु र कृषिक्षेत्रमा युवा पुस्ताको आकर्षण घट्दा अर्थतन्त्र उत्पादनमूलकभन्दा आयातमुखी बन्दै जानुलाई खाद्य असुरक्षा जोखिमको कारण मानिएको छ ।

४२औं विश्व खाद्य दिवसको सन्दर्भमा आइतवार काठमाडौंमा आयोजित ‘नेपालको खाद्य प्रणाली र खाद्य सम्प्रभुता’ विषयक अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल किसान महासंघले गरेको अध्ययन प्रस्तुत गर्दै महासंघका अध्यक्ष डा। प्रेम दंगालले नेपालका १५ लाख मानिस खाद्य असुरक्षाको जोखिममा रहेको बताए । विश्वभर खाद्य असुरक्षामा रहेका मानिसको संख्या १ अर्ब हाराहारी छ । तीमध्ये ९० लाखभन्दा बढीको प्रत्येक वर्ष भोकमरी र कुपोषणका कारण मृत्यु हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

दंगालका अनुसार किसानले अझैसम्म पनि आम रूपमा निर्वाहमुखी कृषि प्रणाली अवलम्बन गर्नुका साथै खेतबारी बाँझो राख्ने प्रवृत्ति बढ्दै जानुले यस्तो अवस्था आएको हो । ‘त्यसकारण भोकमरीको जोखिममा रहेको जनसंख्या कम गर्दै हालको अवस्थामा सुधार ल्याउन हाल भइरहेको खाद्यान्न उत्पादनको मात्रालाई सन् २०३० सम्ममा ५० प्रतिशत र २०५० सम्ममा ७० प्रतिशतले वृद्धि गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालका करीब ६५ प्रतिशत जनता कृषि पेशामा आबद्ध छन् । तर, निर्वाहमुखी कृषि प्रणालीका कारण गत आर्थिक वर्षमा विभिन्न मुलुकबाट २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको २० लाख टन खाद्यान्न आयात भएको छ । कृषिजन्य उपजको निर्यात चाहिँ १९ अर्ब ९० करोड रुपैयाँ बराबरको भएको छ । नेपालमा कुल खाद्यान्नको आवश्यकता वार्षिक ९८ लाख मेट्रिक टन रहेको छ ।

बहुसंख्यक जनता कृषि पेशामा संलग्न भएको मुलुकमा अझै पनि १० लाखभन्दा बढी घरपरिवार भूमिहीन र सुकुमबासी छन् भने आधाभन्दा धेरै किसानसँग शून्य दशमलव ५ हेक्टरभन्दा कम जमीन छ ।

कार्यक्रममा बोल्दै कृषि विभागका उपमहानिर्देशक डा। हरिबहादुर केसीले जमीन बाँझो छोड्ने प्रवृत्तिका कारण यस्ता समस्या निम्तिने भएकाले समाधानका लागि के गर्न सकिन्छ भन्नेमा व्यापक बहस र छलफल गरेर उपाय खोज्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले सरकारको नीति भनेको जमीन बाँझो छाड्नेलाई कारबाही गर्ने रहेको छ तर यो गलत अभ्यास हो । कारबाही विकल्प होइन, त्यसैले सही विकल्प खोज्नेतर्फ सबैको ध्यान जानुपर्छ ।’

कृषि विभागले दिएको तथ्यांकका आधारमा विश्वभरको भोकमरीको सूचक हेर्ने हो भने १ सय २१ देशमध्ये नेपाल ८१औं स्थानमा पर्छ । यो भारत, पाकिस्तान र बंगलादेशको तुलनामा राम्रो हो । उक्त सूचकमा भारत १०७औं, बंगलादेश ८४औं र पाकिस्तान ९९औं स्थानमा छन् । नेपालले बाह्य मुलुकबाट अयात गरेर भए पनि भोकमरीको अवस्थामा सुधार गरेको विज्ञहरू बताउँछन् । आर्थिक अभियान

Translate »