शहरबाट गाउँ पस्यो बजार अनुगमन टोली

चाडपर्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयको अतिरिक्त बजार अनुगमन

स्काई न्यूज /असोज २९, सुर्खेत । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले अतिरिक्त बजार अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयले अहिले खाद्यजन्य पसलसँगै मिठाई, नास्ता पसल, होटल चाउमिन तथा बेकरी उद्योगमा अनुगमन तीव्र पारेको हो । सदरमुकाम वीरेन्द्रनगर बजार क्षेत्रसँगै भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिकामा अहिले बजार अनुगमन केन्द्रित गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

‘चाडपर्वको समयमा उपभोक्ता नठगिउन् र व्यापारी पनि जान अन्जानमा गलत काम गर्नबाट सचेत बनुन् भनी अतिरिक्त अनुगमन तीव्र पारिएको हो,’ उनले भने, ‘चाडपर्वका बेला मिठाईजन्य वस्तुको खपत बढी हुने भएकाले त्यसैमा बढी केन्द्रित गर्न कार्यालयले जिल्ला प्रशासन, स्थानीय पालिका, प्रहरी, राष्ट्रिय उपभोक्ता मञ्चसँगै पत्रकार सम्मलित बजार अनुगमन तीव्र पारेका छौं ।’ उनले शनिबार भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकाका छिन्चु, जहरे क्षेत्रका ४५ वटा होटल, मिठाई पसल, किराना एवं डिपार्टमेन्ट स्टोर, खाद्य उद्योगसँगै एग्रोभेट तथा दाना उद्योगमा अनुगमन गरिएको जनाए ।

उनका अनुसार बजार अनुगमनका क्रममा ३५ हजार मूल्य बराबरको खान अयोग्य मिठाई, जेरी तथा लेवल विवरण उल्लेख नखुलेको चाउमिन ‘अन द स्पट’ नष्ट गरिएको छ । उनले भने, ‘पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीसहितको अनुगमनका क्रममा अधिकांश दर्ताबिना व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।’ छिन्चुका आधा दर्जन मिठाई पसलबाट २० किलो बढी ढुसी लागेको मिठाई, खान अयोग्य बस्तु मिसाएर राखिएको, खराब तेलको प्रयोगजस्ता भेटिएको उनले बताए ।

अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका सामान जफत गरिएको छ भने उद्देश्यविपरीत सञ्चालन गरिएको पसल तथा उद्योगको उत्पादनसँगै विक्री वितरण बन्द गरिएको खाद्य निरीक्षक विवेककुमार सुवेदीले जनाए । ‘बजार अनुगमनको क्रममा भेटिएका म्याद गुज्रिएका खाद्य सामान र पेय पदार्थ जफत गरी नष्ट गरिएको छ,’ उनले भने, ‘दर्ता विना सञ्चालन नभएका पसल तथा उद्योगलाई एक साता भित्र दर्ता गर्न सुझाव दिइएको छ ।’ उनले यतिबेला अनुरोध तथा सुझाव दिएर छाडिएको र अटेर गरे सम्बन्धित निकायमा कार्बाहीको लागि माग गर्ने बताए ।

भेरीगंगा नगरपालिका क्षेत्रमा अनुगमन गर्दा अधिकांश व्यवसायीले व्यवसाय दर्ता नै नगरेको भेटिएको नगरपालिकाका उद्योग तथा अनुगमन शाखा प्रमुख अधिकृत पिताम्वर पौडेलले बताए । उनले भने, ‘पसल दर्ता नै नगरी सञ्चालन गरेको भेटिएको छ । उनीहरुलाई जतिसक्दो चाँडो दर्ता गरी व्यवसाय सञ्चालन गर्न भनिएको छ ।’ पालिकाभित्रका ३० वटा खाद्य, मिठाई तथा होटलको अनुगमन गर्दा उपभोक्ताले देख्ने गरी मूल्यसूची नराखिएको, म्याद गुज्रिसकेका पेय पदार्थ, बिस्कुट, मसला, घिउ राखिएको, ग्रामीण क्षेत्रका पसलले आन्तरिक राजस्व कार्यालयबाट अनुमति नै नलिई मदिरा बेचबिखन गरेको भेटिएको उनले बताए ।

चाडपर्वमा खाद्यदेखि मिठाईजन्य वस्तुमा व्यापारीले उपभोक्तालाई म्याद गुज्रिएको सामान बेचबिखन गर्छन् कि, पसलमा मूल्यसूची नराखी महँगो रकममा सामान बेचबिखन गर्छन् कि भनी व्यापारी र उपभोक्ता दुवैलाई सचेत गराउनका लागि बजार अनुगमनमा थप तीव्रता दिन राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकले आग्रह गरे । उनले भने, ‘अघिल्ला वर्षभन्दा अहिले बजारमा सामान महँगो भएर आएको छ । यहीमा पनि व्यापारीहरुले ठूलो नाफा लिएर उपभोक्तालाई मारमा पार्छन् कि भन्ने आशंका रहेकालेसबै पालिकामा स्थित बजारहरुमा अनुगमन गर्न सुझाव दिए ।

तीन उद्योग सिल
खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय सुर्खेतले बजार अनुगमनका क्रममा तीन वटा उद्योग सिल गरेको छ । कार्यालयले शनिबार भेरीगंगा नगरपालिकाका दुई र गुर्भाकोट नगरपालिकाको एउटा उद्योग सिल गरेको हो । पटक–पटक कार्यालयले दिएको निर्देशन पालना नगर्ने, विना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तुहरु उत्पादन तथा विक्री वितरण गरिरहेको पाईएपछि बाध्य भएर उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले जनाए ।

उनले अनुगमनका क्रममा भेरीगंगा नगरपालिकामा शिवशक्ति चाउमिन उद्योग छिन्चु र एभरेष्ट बेकरी उद्योग जहरेको उत्पादन तथा विक्री वितरण गर्न पूर्ण रोक लगाईएको बताए । उनका अनुसार अनुगमनकै क्रममा गुर्भाकोट नगरपालिकामा मापदण्ड विपरितको सीता चाउमिन उद्योगको उत्पादन तथा विक्री वितरणमा समेत पूर्ण रोक लगाईएको छ । ती उद्योगहरुले कार्यालयले दिएको निर्देशन अनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र सञ्चालन गर्न दिईने उनको भनाइ थियो । उनले कुनै अटेरी गरी आफुखुशी ती उद्योगले उत्पादन तथा विक्री वितरण गरेको पाईए दण्डात्मक कार्यका लागि कानूनी प्रक्रिया अगाडि बढ्ने जनाए ।

Translate »