लगातारको झरीले धानबालीमा क्षति

स्काई न्यूज / असोज २७, सुर्खेत । अघिल्लो हप्ता परेको अविरल वर्षाका कारण पश्चिम सुर्खेतका किसानको धानबालीमा क्षति पुगेको छ । दशैंको अघिल्लो दिनदेखि नै देशभर परेको पानीका कारण घानबालीमा क्षति पुगेको हो । लगातारको वर्षाका कारण पाक्ने बेलाको धानबालीमा क्षति भएपछि किसान चिन्तित भएका छन् ।

चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकाको कतिपय ठाउँमा धान काट्ने बेला भइसकेको छ । किसानले दशै लगत्तै धान काट्ने योजना बनाए पनि काट्न नपाउँदै ढलेपछि चिन्तित बनेका हुन् । धेरै धान फल्ने फाँटमा लगाएको धान वर्षाले ढलाइदिएको चौकुने गाउँपालिकाला–७, का जीवन देवकोटाले बताए ।

दशैं मनाएलगत्तै धान काट्न हुने भइसकेको थियो, तर अहिले पाकेको धान काट्न नपाउँदै लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता सबैमा छ,’ उनले भने ।

वर्षाले खेतमा लगाएको धानसँगै बारीमा लगाएको कोदो बालीमासमेत क्षति पु¥याइएको छ । जिल्लाका अधिकांश किसानले लगाएको धान तथा कोदो बालीमा वर्षाले क्षति पु¥याएपछि किसानलाई चिन्ता थपिएको छ ।

लगातारको वर्षाले जिल्लाको अधिकांश क्षेत्रमा धानबालीमा क्षति पु¥याएको छ । अझै पनि पानी पर्ने सङ्केत देखिएकाले धान काट्न डराउनुपर्ने अवस्था रहेको पञ्चपुरी नगरपालिका–९ का किसान कृष्णप्रसाद कँडेलले बताए । मौसम खुल्नेबित्तिकै धान काट्ने चटारो रहेको उनले बताए । जिल्लामा विशेषगरी थापाचिनी, बास्मती, खुमल ४, मन्सुली र हाइब्रिट प्रजातिको धान लगाउने गरिन्छ ।

जुम्लामा मार्सी धानबालीमा क्षति

लगातारको वर्षाले जुम्लामा पाक्नै लागेको मार्सी धानबालीमा क्षति पुगेको छ । एक सातादेखि परेको वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् । जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए । वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ । पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई वर्षभरि पुग्ने अन्न अभाव हुने तिला गाउँपालिका–१ का किसान जयबहादुर बुढाले चिन्ता व्यक्त गरे । धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको सिञ्जा गाउँपालिकाले बताएको छ ।

तिला गाउँपालिकाका नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली वर्षाले पूर्णरूपमा क्षति गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए । हिउँदमा पशुपालनका लागि काटिएको घाँससमेत मेलामै कुहिएको हिमा–१ का युनेश परियारले बताए । यसबाट हिउँदमा पशुपालनमा ठूलो समस्या आउने अवस्था देखिएको छ । वर्षायाममा जताततै हरियाली हुने भएकोले चरीचरण क्षेत्र धेरै हुन्छ । तर, हिउँदमा सुक्खा हुने भएकोले किसानले घाँस सङ्कलन गरेर राखेका हुन्छन् । घाँसले मङ्सिरदेखि फागुन महीनासम्म पशुबस्तुको आहाराको काम गर्छ ।

दशैं अघिदेखि घाँस काटेर खेतमा सुकाउने, कोदो, चिनो र मकै भित्र्याउने र आलु निकाल्ने समय भएकाले पनि किसान निकै व्यस्त देखिन्थे । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार जुम्लामा दुई हजार ९ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठओटै स्थानीय तहमा धानखेती हुने गरेको छ ।

 

Translate »