सडक पूर्वाधारको विजोग

सुर्खेत गाउँ नै गाउँले भरिएको जिल्ला हो । गाउँले शहरसँगको अन्तरसम्बन्धलाई जिवन्त बनाउन सडकको महत्वपूर्ण भूमिका हुन्छ । अहिले सुर्खेतका गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरु गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् । देश संघीयतामा गइसकेपछि झन् सडक गुणस्तरीय हुनुपर्ने हो, किनभने धेरै सरकार हुँदा कामको बाँडफाँटसमेत हुन्छ । स्थानीय तहमा पहिलाको भन्दा धेरै बजेट पनि जाने गरेको छ । तर, सडकको अवस्था हेर्दा झनै खराब देखिन्छ । यसको अर्थ संघीयदेखि प्रदेश र स्थानीय सरकारहरुले दत्तचित्त भएर काम गर्न सकेका छैनन् । दिगो सडक पूर्वाधार नै विकासको आधार हो । सडकविना विकासको कल्पना नै व्यर्थ हुन्छ । पश्चिम सुर्खेतका अधिकांस ग्रामीण सडकहरु असार तेस्रो सातादेखि बन्द भएका छन् । ती ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दशै आउन थाल्दा पनि खुलाउने सुरसार छैन ।

तीन महिनादेखि बन्द सडक सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा पर्दै आइरहेका छन् । बर्खाको तीन महिना स्थानीयवासीलाई बजारबाट सामान ढुवानी गर्न भरियालाई बोकाउनु पर्छ । गाउँमा कोही बिरामी परेर अपरझट अस्पताल पु¥याउन परे पनि सडकका कारण बोकेरै बजार झर्नुपर्ने अवस्था छ । गाउँ पुगेका सडक बर्खाका कारण दर्जनौं स्थानमा पहिरोले पुरिएका छन् भने कयौं स्थानमा खाल्डाखुल्टी र भलका कारण गाडी गुड्नै नमिल्ने भएका छन् । बाह्रै महिना सडक सञ्चालन नहुँदा पश्चिम सुर्खेतका नागरिकले निकै समस्या भोग्नुपरेको छ ।  अहिले देशैभर चाडपर्वको चहलपहल शुरु हुन थालेको छ । मुलुकभरिका सडकमा सबैभन्दा बढी दबाब पर्ने चाडपर्व दशैं, तिहारको बेला हो । यही बेला दुर्घटना पनि बढी हुन्छ । तर, सरकारी संयन्त्र यस्तो बेला भीडभाडलाई दोष देखाएर पन्छिने गर्छन् । दोष जसलाई लगाए पनि दुर्घटनाको मुख्य कारण सडकको दुरवस्था नै हो । सडकको दुरवस्थाकै कारण यात्रु समयमा गन्तव्यमा पुग्न पनि सक्दैनन् । यति मात्र नभई यतिखेर जुम्ला, कालिकोट र मुगुलगायत कर्णालीका विभिन्न जिल्लामा उत्पादित स्याउ सडक अवरुद्ध भएका कारण कुहिने अवस्थामा पुगेका छन् । स्याउ विक्री गरेर आम्दानी लिने किसानको एक वर्षको सपना सडकको दुरवस्थाले चकनाचुर पारेको छ । यस्तो समस्या देशका अन्य जिल्लाका किसानले पनि बेहोरिरहेका छन् ।

कर्णालीका राजमार्ग मात्र होइन, कुनै पनि सडकमा सुरक्षित किसिमले यात्रा गर्न सक्ने अवस्था छैन । प्रदेश राजधानी सुर्खेतकै सडकमा खाल्डाखुल्टीका कारण सवारीसाधन चलाउन समस्या छ । प्रदेशका सबैजसो सडक सुरक्षाका दृष्टिले पूरै जोखिमपूर्ण छन् । चाहे पक्की सडक होस् वा ग्राभेल वा कच्ची सडक नै, सबैजसो सडकमा खाल्डाखुल्टी छन्, ठाउँठाउँमा पहिरोका कारण नाममात्रका सडक छन् । राजमार्गहरुको समेत सुरक्षा अडिट नभएकाले सडकहरु सवारीसाधनका लागि धराप बनेका छन् । जुन धरापमा जोसुकै जुनसुकै बेला पर्न सक्छ । अर्कोतर्फ दशैंको बेला सवारीसाधन खचाखच भरिएका हुन्छन् । जसरी पनि यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रुलाई कोचेर सवारीसाधन चलाउँदा यी धराप जस्ता सडकमा दुर्घटना अत्यधिक हुन्छ । हुन त सरकारले दशैंलक्षित सुरक्षा योजना चलाएको छ, जसले सवारीसाधनलाई मनपरी रोक्न खोजेको छ । तर, प्रहरी चेकपोस्ट छलेर सवारीसाधनले यात्रु बोक्ने गरेको पाइन्छ । वर्षात् भइरहेकाले ती खाल्डाखुल्टीमा पानी भरिएर सडक हो कि तलाउ भने जस्तो देखिन्छ । कैयौं कालोपत्रे सडक कालोपत्र उप्किएर खोलाका बगरजस्ता देखिन्छन्, जसले गर्दा गाडीको यात्रा निकै लामो बनेको छ । त्यस्तै हिलाम्य सडकका कारण गाडी चिप्लिने, पुल अभावका कारण खोलाबाट गाडी गुडाउनुपर्नेजस्ता समस्यै समस्या छन् । ग्राभेल र कच्ची सडकमा नाली नभएकाले बाटो हिलाम्य भएर गाडी चलाउनै नमिल्ने अवस्थासमेत छ । सरकारले यी सडकको अवस्था तत्काल सुधार्नु जरुरी छ । चाडबाडका लागि खाल्डाखुल्डी पुर्ने, पहिरोहरु पन्छाएर सडक सुरक्षित पार्नेलगायत काम तत्कालै थालिहाल्नुपर्छ ।

Translate »