सुपथ मूल्य पसल : सुपथ पसलले उपभोक्तालाई राहत

असोज ८, सुर्खेत । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । बजारभन्दा सस्तो मूल्यमा खाद्य सामग्री पाउन थालेपछि त्यस्ता पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ ।

सरकारी स्वामित्वको कम्पनीले विक्री गर्ने खाद्यवस्तु सस्तो र गुणस्तरीय हुनुका साथै अनलाइन ढुवानीको सुविधा हुँदा उपभोक्ताको आकर्षण यसतर्फ बढेको हो । कम्पनीको वीरेन्द्रनगर–६ स्थित प्रादेशिक गोदाम परिसरमा सुपथ मूल्य पसल सञ्चालित छ । शुक्रवार सुपथ मूल्य पसलमा भेटिएका वीरेन्द्रनगर–३ का रामबहादुर शाहीले बजारभन्दा सस्तोमा पाइने हुँदा आफ्नो टोलका सबै चामल लिन आएको बताए । ‘एक बोरा चामलमै रू. ७०० सस्तो पर्नु धेरै सहुलियत हो, बरु सरकारले यस्तो पसल सधैं सञ्चालन गरिदिए हुन्थ्यो ।’

वीरेन्द्रनगर–१२ की हीरा परियार चामल लिन दोस्रो पटक सुपथ मूल्य पसल पुगिन् । ‘पहिला एक बोरामात्र लिएर गएँ, खाँदा स्वाद ठिकै लागेपछि फेरी चामल किन्न आएकी हुँ,’ उनले भनिन्, ‘स्वादिष्ट र सस्तो भएपछि किन बजारको महँगो किन्नु, दुई–चार महिना पुग्ने चामल आजै लैजाने सोच बनाएकी छु ।’

उपभोक्ताको भीड बढेपछि कम्पनीले बिल काट्ने निश्चित समय निर्धारण गरेको छ । कम्पनीका प्रादेशिक कार्यालय प्रमुख माधव मिश्रले दिउँसो १ बजेसम्म बिल काट्ने समय निर्धारण गरिएको बताए । एकपटक एक ग्राहकलाई बढीमा एक क्विन्टल चामल वितरण गरिएको छ । ‘यहाँ बजारमा जस्तो मूल्य र नापतौलमा ग्राहक ठगिने अवस्था हुँदैन, दैनिक औसत २०० क्विन्टल चामल बिक्री भइरहेको छ,’ उनले भने, ‘ग्राहकको भीड बढेका कारण हामीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे परेको छ ।’

न्यून आय भएका सर्वसाधारण बढी आएको र उनीहरूले निकै राहत महसुस गरेको कम्पनीका प्रमुख मिश्रको भनाइ थियो । सुपथ मूल्य पसल आगामी कात्तिक १५ गतेसम्म सञ्चालन हुनेछन् । पसलमा अरुवा मोटो चामल, सोना मनसुली चामल, स्टिम जिरा मसिनो चामल, बास्मती चामल, अरहर, मास, मसुरोको दाल विक्रीका लागि राखिएको छ ।

उक्त कम्पनीले असोज १ गतेदेखि कर्णालीका सल्यानबाहेक नौ जिल्लामा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । कम्पनीको सुर्खेतस्थित प्रादेशिक कार्यालयका अनुसार चार हजार सात सय प्रतिक्विन्टल मूल्य रहेको अरुवा मोटो, प्रतिक्विन्टल पाँच हजार रहेको जिरा मसिनो चामल, प्रतिक्विन्टल ६ हजार रहेको स्टिम जिरा मसिनो र प्रतिक्विन्टल १० हजार पाँच सय पर्ने बासमती चामलमा जनही रू. ७०० छूट दिइएको छ । त्यस्तै अरहर, मास र मसुरोको दालमा पनि प्रतिकेजी रू ७ छूट दिइएको छ । कम्पनीले अनलाइन अर्डर गर्ने ग्राहकलाई घरमै डेलिभरीको व्यवस्था पनि मिलाएको छ ।

उक्त कार्यालयको अन्य जिल्लाका सहुलियत मूल्य पसलमा पनि उपभोक्ताको आर्कषण बढेको जनाएको छ । मुगु, डोल्पा, जुम्ला, दैलेख र कालीकोटमा सुर्खेतबाट थप चामल पठाइएको छ । ‘त्यहाँ मौज्दात चामल सकिन थालेपछि थप पठाइएको छ,’ प्रमुख मिश्रले भने, ‘गोदाममा चामलको अभाव हुन नदिन ढुवानीकर्तालाई निरन्तर ताकेता गरिरहेका छौं, ढुवानीको वैकल्पिक व्यवस्था पनि मिलाइएको छ ।’

Translate »