चाडपर्व लक्षित बजार अनुगमन : कालोबजारी रोक्न अनुगमन टोली जुट्यो

स्काई न्यूज /असोज ५, सुर्खेत । सुर्खेत सदरमुकाम सहित जिल्लाभरी चाडपर्व लक्षित बजार अनुगमनलाई प्रभावकारी बनाउने अभियान शुृरु भएको छ । चाडपर्वको समयमा मूल्यवृद्धि, म्याद सकेका खाद्यान्न, कालोबजारीलगायतका अनैतिक कार्य अपेक्षाकृत बढी हुने भएकाले बजार अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला बजार अनुगमन टोली अहिले थप सक्रिय भएको हो । चाडपर्व लक्षित बजार अनुगमनका लागि बजार अनुगमन समिति सुर्खेतले एक्सन प्लान तयार पारेर कार्यान्वयनमा ल्याउन सबै सरोकारवालाको समन्वयमा अभियान तीव्र पारेको छ । टोलीले खाद्यान्नदेखि लत्ताकपडा, सिमेन्ट गिट्टीबालुवा, रंगरोगनका साम्रगीदेखि सवारी साधनसम्मको अनुगमन गर्ने तयारी गरेको हो ।

‘चाडपर्व लक्षित बजार अनुगमनका लागि हाल उपलब्ध रहेको रिसोर्सलाई व्यवस्थित तरिकाले परिचालन गरि परिणाममुखी कामको अपेक्षा गरेका छौं,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै सबै सन्यत्र परिचालन गरेर अनुचित कार्यमा संलग्नलाई दण्डात्मक कार्य समेत सँगैसँगै अगाडि बढाएका छौं ।’ उनले अहिलेको चाडपर्व लक्षित बजार अनुगमनलाई परिणाममुखि बनाउन अतिरिक्त जनशक्तिसँगै अन्य सरोकारवाला निकायसँग सहयोग तथा समन्वय गरेर अगाडि बढ्ने जनाए । उनका अनुसार जिल्लाभित्र कुनैपनि उपभोक्ता हितविपरित कार्य रोक्नका लागि जतिबेला पनि बजार अनुगमन टोली परिचालन हुनेछ ।

बजारलाई व्यवस्थित र सभ्य बनाउन प्रभावकारी तरिकाले जुटेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए । उनले कानूनबाट प्रतिबन्धित गरेको व्यापार व्यवसाय गर्ने जोकोहीलाई नियम अनुसारको कार्वाही हुने जनाए । ‘बजार अनुगमन अपरिहार्य हो, तर,अनुगमन टोलीलाई असहयोग तथा उल्टै तर्रासाउने, धम्काउनेलाई सिधै अदालतको कठघरामा पु¥याउँछौं,’ उनले भने, ‘सरकारले बजार अनुगमन गर्नका लागि हामीलाई योजनावद्ध तरिकाले निर्देशन गरेको छ’ उनले भने, ‘बजारलाई उपभोक्तामैत्री सभ्य बनाउन हामी सबै समन्वयकारी निकायसँगै राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशसँग हातेमालो गरिरहेका छौं ।’

उनले बजारमा अझै सचेतना फैलाउँदै दण्डात्मक कार्यलाई निरन्तरता दिईरहेको जनाए । उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चाडपर्व लक्षित मात्र केन्द्रित नभएर वर्षभरी नै योजनाबद्ध तरिकाले उपभोक्तासँगै व्यवसायलाई समेत सचेतना फैलाउँदै सेवा प्रदायकलाई जिम्मेवार बनाउँदै आएको छ । उनले बजार व्यवस्थापनमा हाल केही कमीकमजोरी देखिएपनि कार्यालय निरन्तर सुधारका लागि प्रयासरत रहेको जनाए । तत्काल वीनपाले कम्तीमा पनि एउटा आफ्नै खाद्य निरीक्षक नियुक्त गरि आफ्नै ऐन, नियममा टेकेर बजार अनुगमनलाई प्रभावकारी बनाउन सके नगरको हक अतिउत्तम रहने उनको भनाइ थियो ।

उनले कर्णाली प्रदेशभरी जुनसुकै निकायलाई बजार अनुगमनका लागि प्राविधिक सहयोग आफ्नो कार्यालयबाट जतिबेला पनि उपलब्ध गराईने स्पष्ट पारे । उता उपभोक्ताकर्मीहरुले भने बजार अनुगमनलाई कर्मकाण्डी नबनाई उपभोक्ता हितको संरक्षणका लागि देखिने गरी काम गर्न सुझाव दिएका छन् । राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाश तारा बयकले उपभोक्ता सचेतनासँगै देखिने गरी दण्डात्मक अभियानलाई अगाडि बढाउन सुझाव दिए । बजार अनुगमनले उपभोक्ता सचेतनामात्र होइन, राज्यको नै उपस्थिति जनाउने भएकाले सबै सरकारी निकायहरुसँग समन्वय तथा सहयोग लिएर अगाडि बढ्न उनले आग्रह गरे ।

बजार अनुगमन प्रभावकारी बनाउन तीनै तहका सरकारले आवश्यक बजेट, जनशक्तिसँगै उपभोक्ता अधिकार सुनिश्चित गराउनु पर्नेमा उनले जोड दिए । यसैवीच बजार अनुगमन समिति सुर्खेतले बुधबार वीरेन्द्रनगर सिटी बस पार्कमा गरेको अनुगमनमा अधिकांस पसलहरु दर्ता विना नै सञ्चालनमा रहेको पाईएको थियो । ती पसलहरुले उपभोक्ताको हित विपरित आकर्षित पार्न खाद्यवस्तुमा जहरिला रंगहरु प्रयोग गरेका माछा, मासुसँगै करिब १० किलो जेरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख थापाले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका वस्तुमा हेलचक्राई गर्ने व्यापारीलाई नियम अनुसार कार्वाही गरिने जनाए । पहिलो पटकका लागि हानिकारण रंग मिसावट गरिएका खाद्य वस्तुहरु नष्ट गरिएपनि अर्को पटक देखा परे सिधै मुद्धा चलाईने उनको भनाइ थियो ।

घुमन्ते व्यापारीलाई निषेध
घुमन्ते व्यापारीलाइृ समेत बजार अनुगमन टोलीले कडाई गरेको छ । टोलीले त्यस्ता घुमन्ते औषधि, खाद्यवस्तु, लत्ताकपडा बिक्री गर्दै सडकमा हिँड्ने व्यापारीलाई कार्वाही गरिने जनाएको छ । घुमन्तेबाट उपभोक्ता ठगिएको गुनासा आउन थालेपछि बजार अनुगमन समितिले त्यस्ता व्यापारीको विक्री वितरणमा पूर्ण रोक लगाउने बताएको हो । घुमन्ते व्यापारीले झोलामा बोकेर डुलाउँदै बेचिरहेकाबाट खरिद गरिएका सामाग्रीबाट उपभोक्ता नराम्रो तरिकाले ठगिने भएकाले सचेतनासँगै त्यस्ता व्यापारीलाई नियन्त्रणमा लिने अभियान थालिने अनुगमन टोलीको भनाइ छ ।

घुमन्ते व्यापारीले राज्यलाई राजश्व समेत नतिर्ने भएकाले गुणस्तरहिन वस्तुबाट उपभोक्तालाई समेत हानि नोक्सानी भईरहेकाले प्रहरीलाई त्यस्ता घुमेन्तेलाई देख्ने वित्तिकै नियन्त्रण लिन उपभोक्ता अधिकारकर्मीले आग्रह गर्दै आईरहेका छन । सामान सस्तोमा पाइयो भन्दैमा उपभोक्ताले लेबल नै नभएका, बिल नभएका सामग्री खरिद नगर्न उपभोक्ताकर्मीले आग्रह गरेका छन् ।

 

 

Translate »