दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला

असोज १, काठमाडौं । दशैं/ तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै शनिवारदेखि लामो तथा मध्यम दूरीका यात्रुवाहक बसको अग्रिम टिकट बुकिङ खुलेकाे छ।

यातायात व्यवसायीहरूको संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकट बुकिङ खुला गरिएको बताएका छन् । उनका अनुसार धेरै गाडी आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक विभाग र यातायात व्यवसायीहरूको यही भदौ २२ गतेको बैठकले असोज १ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको थियो ।

यसपटकको दशैंका लागि  २०७९ असार २७  गते तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जानकारी दिएको छ ।

सर्वपक्षीय बैठकले यसअघि नै यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि भइसकेको छ । आर्थिक अभियान

Translate »