नेपालमा ५५ देशबाट २.२८ खर्ब वैदेशिक लगानी

भदौ २९, काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत आर्थिक वर्ष (आव) २०७७र७८ सम्ममा ५५ देशबाट करीब २ खर्ब २८ अर्ब रुपैयाँ लगानी भएको एउटा सर्वेक्षणले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी मौज्दात अघिल्लो आवको तुलनामा १४ दशमलव ८ प्रतिशतले बढेर २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ पुगेको देखाएको हो । विदेशीले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, जलविद्युत्, होटेल तथा रेस्टुराँलगायत क्षेत्रमा लगानी गरेका हुन् ।

सर्वेक्षणमा विदेशीले नेपालमा गरेको लगानीमध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्रमा ६० दशमलव ५ प्रतिशत रहेको उल्लेख छ । यस्तै ३९ दशमलव ४ प्रतिशत सेवाक्षेत्रमा लगानी भएको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत्मा ३० दशमलव ८ प्रतिशत र उत्पादनमा २९ दशमलव ५ प्रतिशत छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ दशमलव ९ प्रतिशत सेवाक्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

कुल वैदेशिक लगानीमा चुक्ता पूँजीको अंश ५३ दशमलव ९ प्रतिशत, सञ्चिति ३१ दशमलव ६ प्रतिशत र कर्जाको अंश १४ दशमलव ५ प्रतिशत छ । चुक्ता पूँजीको अंश १३ दशमलव ७ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको हो ।

राष्ट्र बैंकले आव २०७७र७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये १९७ ओटालाई नमूनाका रूपमा छनोट गरी सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरण विश्लेषण गरी ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७र७८’ तयार पारिएको राष्ट्र बैंकको अनुसन्धान विभागले जानकारी दिएको छ ।

प्रतिवेदनअनुसार २०७८ असारसम्ममा नेपालमा ५५ ओटा देशको प्रत्यक्ष वैदेशिक लगानी छ । त्यसमध्ये सबैभन्दा बढी छिमेकी भारतबाट ७५ अर्ब ८१ करोड लगानी भएको छ । त्यसपछि चीनबाट ३३ अर्ब रुपैयाँ, आयरल्यान्डबाट १६ अर्ब ४८ करोड रुपैयाँ, सिंगापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ लगानी आएको प्रतिवेदनमा उल्लेख छ ।

आव २०७७र७८ मा नेपालमा ६०४ कम्पनी दर्ता भएकोमा १९७ विदेशी लगानीका छन् । त्यसमध्ये सेवाक्षेत्रको ४३ दशमलव ९ प्रतिशत छ । सेवाक्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी २७ दशमलव ३ प्रतिशत छ । जलविद्युत् क्षेत्रमा २७ दशमलव ५ प्रतिशत र होटेल तथा रेस्टुराँमा ६ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकको सर्वेक्षणले औंल्याएको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग उक्त वर्ष ६४ दशमलव ९ प्रतिशत रहेको पाइएको छ । अघिल्लो वर्ष कम्पनीहरूको ४४ दशमलव १ प्रतिशत मात्र क्षमता उपभोग भएको थियो । लगानी र क्षमता उपभोगमा वृद्धि भए पनि उनीहरूको प्रतिफल दर भने घटेको छ । सर्वेक्षण प्रतिवेदनमा अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी रहेका कम्पनीको प्रतिफल दर १५ दशमलव ६ प्रतिशत रहेकोमा आव २०७७र७८ मा घटेर १४ दशमलव ७ प्रतिशत कायम भएको उल्लेख छ । आर्थिक अभियान

Translate »