बलत्कार गरेको आरोपमा तीन जना पक्राउ

भदौ २९, मुगु । १६ वर्षीया बालिकालाई सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। छाँयानाथ रारा नगरपालिका–४ का २१ वर्षीय श्रृष्ट महतार र एक १३ वर्षीय बालकलाई प्रहरीले भदौ २४ गते उनीहरूकै घरबाट पक्राउ गरेको हो।

आरोपित कालिकोट जिल्ला सन्नि त्रिबिणी–३ रुखु स्थाई घर भई हाल छाँयानाथ रारा नगरपालिका–१४ स्थित चंखेली रेष्टुरेण्टमा कुकको काम गर्दै आएका १८ वर्षीय देबराज शैसीलाई २६ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

छाँयानाथ रारा नगरपालिका–१३ लुमा गाउँ नजिक गमगढी–बाम कच्ची सडक खण्डमा बालिकालाई सामूहिक बलत्कार गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २४ गते उजुरी दिएका थिए।

गाउँ नजिकको मेला हेरेर घर फर्किने क्रममा भदौ २३ गते राति १२ बजे आफ्नो नाबालिका छोरी माथि सामूहिक बलत्कार भएको पीडित पक्षले बताएका छन्। घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यलयका डीएसपी सुभाष हमालले जानकारी दिए।

Translate »