राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसदबाट राजीनामा

भदौ १९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् । राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्यको कार्यकाल मंसिर ४ गतेपछिका लागि पनि राख्ने तयारी हुँदा आफू दुःखी भएकाले राजीनामा दिनुपर्ने लागेको बताए ।

उनले भने, ‘भत्ता पकाउनका लागि मात्रै संसद् आइँदैन भनेर आउन छोडेको थिएँ । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने भन्ने निर्णय प्रक्रियामा आएको छ,’ उनले भने, ‘त्यसले लज्जित र दुःखित तुल्यायो । अब सांसद छैन भनेर बाटो बाटो भन्दै हिँड्नु उपयुक्त हुँदैन भन्ने लागेर संसद्मा उपस्थित भएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर यो घोषणा गर्दछु अब म उपस्थित हुने छैन ।’

निर्वाचन घोषणा भएपछि पनि संसद् चल्नु राम्रो नभएको लिङ्देनको भनाइ थियो । उनले सरकार पनि चुनावी रूपमा बनाउनुपर्ने उनको धारणा थियो । लिङ्देन २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तय भएको छ । उनले अब प्रतिनिधिसभा निर्वाचनमा पार्टी काममा लाग्ने बताए । इकान्तिपुर

Translate »