नजिकिँदै तीज, टाढिँदै मौलिकता : आधुनिकताका नाममा उछृङ्खलता

अनिता विक / भदौं ८, सुर्खेत । गाउँदेखि सहरसम्म तीजका नयाँ पुराना भाका घन्किन थालेका छन् । सञ्चार माध्यम र सोसल मिडियामा झपक्कै गरगहना र महँगा साडी लगाएर पाश्चात्य शैलीका गीतमा नाच्दै रमाइरहेका महिलालाई देख्दा ग्रामीण भेगका वनजङ्गल र मेलापात गर्नुपर्ने विपन्न महिलालाई हिनताबोध समेत हुने गरेको पाइन्छ । धार्मिक आस्था र सामाजिक सद्भाव झल्कनुपर्ने तीज पर्वलाई हुँदा खाने र हुने खाने वर्गको वर्गीय पहिचान हुने चाँड बनाइदै लगिएको चौकुने गाउँपालकिाका पुराना राजनीतिककर्मी काशीराम देवकोटा बताउँछन् ।

‘धार्मिक आस्था र पारस्पारिक मिलनको रुपमा लिइनुपर्ने तीज पर्वलाई गहना र फेसन प्रदर्शन गर्दै मासु र मदिरासहित उछृृङ्खल गतिविधि प्रदर्शन गर्ने अवसरका रुपमा लिइयो । यसले संस्कृतिको संरक्षण हुने होइन, नराम्रो विकृति निम्तनुका साथै पर्वको मौलिकता नै हराउँदै जान्छ,’ उनले भने, ‘तीजमा अरुलाई देखाउनै लागि महँगा साडी, महँगा मोबाइललगायतका चिजहरु किनिन्छन् । हुने र सक्नेले यसलाई वैयक्तिक स्वतन्त्रताको नाम दिन्छन् तर नहुने र देखासिकी गर्ने महिलाका लागि तीज चाड होइन, कहर बन्न पुग्छ । उछृङ्खलता स्वतन्त्रता हुन सक्दैन र सामाजिक र धार्मिक चाडपर्व मनाउने नाममा वर्गीय भिन्नता देखिने सार्वजनिक कार्यक्रमहरु गर्न दिइनु हुँदैन ।’ देवकोटाका अनुसार कुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्न नसकिने खालका छन् । उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन । यसले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ ।


बदलिँदो समय, फेरिदो आर्थिक अवस्था र आधुनिक जीवनशैलीप्रति बढ्दो आकर्षणका कारण विरह र बेदना समेटिएका गीतहरु हिजोआज सुनिदैनन् । तीज पर्व महिलाले वर्षभरि भोग्नुपरेका दुःख, पीडा र व्यथा बाहिर ल्याउने पर्व हो । लोक संस्कृति झल्काउने खालका गीत गाउँथे तर अहिले यस्ता गीतहरु लोप हुने अवस्थामा पुगेको समाजका अगुवा महिला अधिकारकर्मी बताउँछन् । महिलाले सासू–ससुरा र पतिको अन्यायका विरुद्ध आवाज उठाउने संस्कृतिमा रुपमा गाउने भाका अहिले फेसनका रुपमा भित्रिन थालेको छ । पहिलापहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोेजस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन र तामसी भावका गीत बढी छन् ।
हराउँदै धार्मिक पक्ष
तीज पर्व भगवान शिव र पार्वतीसँग जोडेर मनाउने पर्व हो । यस पर्वमा महिलाहरु अघिल्लो दिन दर खाएर भोलिपल्टअर्थात् हरितालिकाको दिन निरहार पानी पनि नखाई व्रत बसी भगवान शिवको पूजा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो असल, गुणी, राम्रो पति पाऊँ भन्दै व्रत बस्ने प्रचलन रही आएको छ । हिन्दू धर्म ग्रन्थमा भगवान शिवलाई पति पाउँ भनेर देवी पार्वतीले गरेको व्रतको प्रभावले शिव नै स्वामी पाएको भन्ने धार्मिक जनविश्वास रहँदै आएको छ तर हिजोआज तीज पर्वको धार्मिक पक्ष नै ओझेलमा पर्दै गएको छ । हिजोआज तीज व्रत देखाउनैका लागि मात्र बसिएको हो कि जस्तो लाग्न थालेको छ । एक डेढ महिनासम्म ‘दरखाने’ नाउँमा नानाथरिका परिकारहरु खाने, रमाउने र एकदिन फलफूल र बजारमा पाइने पेय पदार्थ पिएर ब्रत बसें भन्नुको कुनै अर्थ रहँदैन । महिलाले निरहार दिनभरि व्रत बसेर राति पतिलाई टीका लगाई खुट्टाको पानी खाने प्रचलन थियो तर अहिले संस्कृतिमा खुट्टाको पानी खानु स्वास्थ्यका लागि राम्रो होइन भनेर धेरै महिलाले त्यसो गर्न छाडिसकेका छन् । निरहार व्रत बस्ने चलन पनि हट्दै गएको छ । बिरामी, अशक्त मात्र नभई अन्य महिलाले पानी, फलफूल, जुस खाएर व्रत बस्ने गरेका छन् । व्रत बस्दा स्वास्थ्यलाई ध्यान दिएर बस्नु राम्रो हुन्छ, निरहार व्रत बस्नुपर्छ भन्ने कुनै शास्त्रमा उल्लेख छैन् ।

तीजको बेलामा सबै जान्छन् मेलामा,
म छोरीको आँशु खस्यो दैला ठेलामा ।
तीजको लहर आयो बरिलै ।

केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका यस्ता गीतले महिलाले सासु/ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे तर, अब त्यो समय रहेन । नेपाली नारीहरुको महान् चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो व्यापक बन्दै जान थालेको छ ।

सुर्खेतको चौकुने गाउँपालिका–८, की ६९ वर्षीया मंगलादेवी बयकले विगतका दिनमा आफूले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भनिन्, ‘म सानो छँदा गाउँघरमा मादलको तालमा सुखदुःख समेटिएका गीत गाउँदै छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झन्छु तर, आजभोलि तीजका गीत सुन्दा तीजका हु्न् कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ ।’

विगतका दिनमा गाउँघरमा साथी सहेली, फुपू अमाजू, ठूलीआमा, सानीआमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उनको भनाइ छ । सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झँदै उनले भनिन्, ‘आजभोलि त हामीले मनाउने तीज, तीजजस्तो लाग्दैन, उच्छृङ्खल, तडकभडक र देखासिखीको चाडजस्तो लाग्छ ।’ दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृति अनुसारको नेपाली मौलिकपन नहुँदा मंगलादेवी मात्रै होइन, पुरानो पुस्ताका प्रायः सबै महिलाका साथै नयाँ पिँढीका सामान्य महिला पनि चिन्तित छन् । वीरेन्द्रनगर–८, खजुराकी किरण शर्मा पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हाबी भएको दाबी गर्छिन् । खजुराकी अगुवा महिला शर्माले भनिन्, ‘तीज वर्षभरिको दुःखसुख साटासाट गर्ने पर्व भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।’

उनले तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पु¥याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्ने बताईन् । चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ,’ उनले भनिन् । पञ्चपुरी नगरपालिका–७, की देवकी बयकले तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व भएको बताईन् । उनले विगतमा झैं तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको प्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘तीज आउनु एक महिना अघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउथे ।

अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।’ तीज मनाउन महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने उनको तर्क छ । उनले भनिन्, ‘आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे ।

तीजमा विवाहित महिला रातो साडी र रातै चुरामा सजिएर आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहित महिला राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको वीरेन्द्रनगरकी अम्बिका शर्मा बताउँछिन् । उनले भनिन्, ‘आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्ने गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिखी गर्नु हुँदैन ।’ परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व जोगाउन सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने उनको भनाइ छ ।

Translate »