निर्वाचन आयोगद्वारा स्वर्गीय ढकालका परिवारलाई बीमा रकम हस्तान्तरण

स्काई न्यूज/ साउन २४, सुर्खेत ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिएको समयमा सवारी दुर्घटनामा परी मृत्यु भएका वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी हृदयराम ढकालका आफ्न्तलाई बीमा रकम हस्तान्तरण गरेको छ । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ड खनाल, वीरेन्द्रनगर–११, का वडाध्यक्ष श्याम देवकोटा, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसे, वीनपाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी, राष्ट्रिय बीमा कम्पनी सुर्खेतका प्रमुख शिवराज विसीले संयुक्तरुपमा स्व.ढकालकी श्रीमती सुस्मा ढकाललाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय बीमा कम्पनीले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको बीमा रकम हस्तान्तरण कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी चालिसेले स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीका लागि आयोगले २० लाख रुपैयाँको दुर्घटना बीमा सम्झौता गरे अनुरुप नै कम्पनीले उक्त रकम स्व.ढकालका परिवारलाई हस्तान्तरण गरेको बताए । उनले निर्वाचन ताका भएको सवारी दुर्घटनाबाट अपूरणिय क्षतीको परिपूर्ति गर्न नसकिएपनि बीमा रकमबाट परिवारका सदस्यलाई केहीहदसम्म राहत पुग्ने विश्वास व्यक्त गरे ।

यता वीनपा नगरप्रमुख ढकालले निर्वाचनताका सवारी दुर्घटनामा परी मृत्यु भएका आफ्ना कर्मठ कर्मचारी गुमाउँदाको पीडालाई शब्दमा वयान गर्न नसकिने बताईन् । उनले निर्वाचनमा खटिने कर्मचारीका लागि आयोगले गरेको दुर्घटना वीमा वापतको रकमबाट परिवारका सदस्यलाई थोरैभएपनि सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नगरपालिकाको तर्फबाट पनि स्वर्गीय ढकालका परिवारजनलाई आवश्यक सहयोग गरिने उनको भनाइ थियो । गत वैशाख ३० गते वीरेन्द्रनगर नगरपालिका–३, स्थित हरि डिलभूमि माध्यमिक विद्यालय मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत ढकालको साँझ घर फर्किनेक्रममा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

Translate »