नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

साउन २३, काठमाडौं । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । भारतीय टोलीका पूर्वअलराउन्डरसमेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका थिए । यसअघि उनी अफगानिस्तान क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको पनि प्रशिक्षक थिए ।

यसअघि नेपालका पुबुदु दासानायकले बीचमै छोडेपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको थियो । ‘नेपालमा रहेको क्रिकेटप्रतिको लगाव, उनीहरूको प्रतिभा र कौशल देख्दा म नेपाललाई क्रिकेटको शक्तिको रूपमा विकास गर्न नेपाली राष्ट्रियक्रिकेट टिमसँग सहकार्यका लागि तयार छु,’प्रभाकरको भनाइ उद्धृत गर्दै क्यानको विज्ञप्तिमा भनिएको छ ।

प्रभाकर सन् १९९९ मा खेल मिलेमतोको विवादमा मुछिएका थिए । उनलाई बीसीसीआईले भारतीय टिममा खेल्न प्रतिबन्धसमेत लगाएको थियो । त्यस्तै खेलाडी र छनोटकर्ताका बारेमा सार्वजनिक रूपमै आलोचना गरेपछि उनलाई दिल्ली क्रिकेट टिमले पनि प्रशिक्षकबाट हटाएको थियो ।

प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजे पनि असफल भएका पात्रसमेत हुन् । उनी सन् १९९६ मा लोकसभा चुनावमा दक्षिण दिल्लीबाट कांग्रेसबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका थिए । उनी सन् २०१५ मा अफगानिस्तान क्रिकेट टिमको बलिङ प्रशिक्षक भएका थिए । उनकै प्रशिक्षणमा अफगानिस्तानले सन् २०१६ मा भारतमा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो ।

Translate »