भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित

साउन २१, काठमाडौं । जगदीप धनखड भारतको उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले कुल खसेको मतमा ५ सय २८ प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन् । ‘एनडीएका उम्मेदवार जगदीप धनखडले ३ सय ४६ मतान्तरले चुनाव जितेका छन् । उनले खसेको ७ सय २५ मतमध्ये ५ सय २८ प्राप्त गरेका छन् । जबकी १५ मत रद्द भएको छ ।

विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ मत प्राप्त गरेकी छिन्’ चुनावी परिणामको घोषणा गर्दै लोकसभाका महासचिव उत्पल सिंहले भने ।भारतका उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ । धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नेछन् । यसअघि उनी पश्चिम बंगालको राज्यपाल रहेका थिए । जुलाई महिनामा भएको राष्ट्रपति चुनावमा भाजपाकी उम्मेदवार द्रौपदी मूर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

Translate »