जुम्ला विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बन्दै

साउन २०, जुम्ला । जुम्ला विमानस्थलमा नयाँ सुविधायुक्त टर्मिनल भवन बन्ने भएको छ । चालु आवमा नेपालका सात विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नति गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना छ । जस अन्तर्गत चालु आवमै जुम्ला विमानस्थलमा सुविधायुक्त टर्मिनल भवन निर्माण हुने भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठुलो शहर समेत रहेको जुम्ला विमानस्थलमा यात्रु चाप अत्यधिक हुने गरेको छ । यद्यपि, सेडुल उडान नभएका कारण यात्रुले सास्ती खेप्नुपरेको छ । विमानस्थलको स्तर वृद्धि तथा विस्तार नहुँदा, यात्रुको चाप अनुसार ठुला जहाज जुम्ला ल्याउन नसक्दा समस्या भएको हो ।

जुम्ला विमानस्थल जुम्लाका प्रमुख सन्तोष अधिकारी भने,‘जुम्ला विमानस्थल स्तर वृद्धिको पहल विगत देखिनै भएको हो । हालको टर्मिनल भवन निकै पुरानो भइसकेको छ । चालु आवमा प्राधिकरणले सुविधायुक्त टर्मिनल भवन बनाउने पक्का भएको छ । अनुमानित ३ देखि ४ करोड सम्म बजेट विनियोजन हुन्छ । चालु आवबाटै काम अघि बढ्छ ।’ नयाँ टर्मिनल भवनमा भिआइपी, भिभिआइपी कक्ष, सबै एयरलाइन्सको कार्यालय, टिकट काउन्टर, प्रतीक्षालय, खानेपानी शौचालय कफी शप जस्ता सुविधा भएको, हालको भन्दा निकै सुविधा सम्पन्न एकतले टर्मिनल भवन निर्माण हुने प्रमुख अधिकारीले बताए ।

जुम्ला विमानस्थलमा टर्मिनल भवन निर्माण पश्चात् कर्णालीको पर्यटन प्रवद्र्धनमा उल्लेखीय वृद्धि समेत आशा गरिएको छ । यद्यपि धावनमार्ग स्तर वृद्धि भने तत्काल नहुने भएको छ । जुम्ला विमानस्थलमा टर्मिनल भवन बने पश्चात् डोल्पा सेक्फोण्डो, हुम्ला मानसरोवर तथा मुगु रारा ताल आउने जाने सबै स्वदेशी तथा विदेशी पर्यटकलाई जुम्ला जान समेत सहज हुनेछ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अनुसार आगामी आर्थिक वर्षमा देशका विभिन्न स्थानमा सात विमानस्थलमा सुविधा सम्पन्न टर्मिनल भवन बनाउने तयारी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारले बताए ।

उनका अनुसार अर्थ मन्त्रालयबाट टर्मिनल भवन निर्माणका लागि बजेटको सुनिश्चिता समेत भइसकेको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/०८० को लागि विमानस्थल स्तर वृद्धि र विस्तारका लागि ४१ अर्ब ८५ लाखको बजेट विनियोजन गरेको महानिर्देशक अधिकारीले जानकारी दिए । उनका अनुसार जुम्ला विमानस्थलसहित महेन्द्रनगर, विराटनगर, नेपालगञ्ज, रारा, भरतपुर र रामेछाप विमानस्थलमा सुविधायुक्त टर्मिनल भवन निर्माण गरिने छ । बहुवर्षीय ठेक्का प्रक्रियाबाट आन्तरिक स्रोतबाटै टर्मिनल भवन निर्माणको काम चालु आर्थिक वर्ष देखिनै सुरु हुने प्राधिकरणले जनाएको छ । साथै काठमाडौंमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन तथा अस्थायी आन्तरिक आगमन कक्षको निर्माण हुने छ । (रेडियो नेपाल)

Translate »