४३९ मेवाको बेतन कर्णाली जलविद्युत् आयोजना : चालू आवभित्र ठेक्का सम्झौता, अर्काे आवबाट निर्माण !

स्काई न्यूज /साउन १६, सुर्खेत । ४३९ मेगावाट (मेवा)  क्षमताको अर्धजलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनाको ५३० मिटर अडिट टनेल खनिएको छ । यस्तै, कर्मचारी आवास र पहुँच मार्ग पनि निर्माण भएको आयोजनाले जनाएको छ । आयोजनाको अडिट टनेल, कर्मचारी आवास र पहुँच मार्ग निर्माण भइसकेकाले चालू आर्थिक वर्षभित्रै आयोजनाको ठेक्का सम्झौता गरेर आगामी आर्थिक वर्षबाट निर्माणमा जान सकिने वेतन कर्णााली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी परियोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले बताएका छन् । अछाम र सुर्खेतको सिमानामा पर्ने आयोजनाको मुआब्जा वितरण भने हुन सकेको छैन । मुआब्जा वितरणको काम भने प्रक्रियामै रहेको उनले बताए । उनका अनुसार अछामतर्फ मुअब्जा निर्धारण भइसकेको छ भने सुर्खेततर्फ बाँकी छ ।

अहिले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका घरघरमा गएर बैंकखाता खोलिरहेको र त्यही खातामार्फत छिट्टै मुआब्जा रकम वितरण गरिने उनले बताए । सोमवार अछाममा गरिएको सार्वजनिक सुनुवाईमा स्थानीयले रोजगारीको विषय उठाएका थिए । त्यसको जवाफ दिँदै कर्मचारीले आयोजनामा काम गर्न स्थानीयलाई तालिम दिएर दक्ष बनाइने बताएका छन् । आयोजनाका लागि स्थानीय स्तरमा जनशक्ति उपलब्ध नभए मात्रै बाहिरबाट ल्याउने आयोजनाको तयारी छ । परियोजनाका अनुसार ८९ मिटर अग्लो आयोजनाका ड्याम (बाँध) सुर्खेतको चौकुने र अछामको ढकारीका वडा नं. ६ अन्तर्गत मालुमेलातर्फ बन्दैछन् । त्यसबाट ८/८ मिटर डायमिटरका तीन वटा सुरुङ बनाइनेछ । यी सुरुङ दुई किलोमिटर लामा हुने छन् । ५ सय ७० मिटरमध्ये हालसम्म ५ सय ३० मिटर लामो टेस्ट टनेल खनिसकिएको वेतन कर्णााली सञ्चयकर्ता प्रबन्धक न्यौपानेले जानकारी दिए ।

पाँच वर्षमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको यो आयोजना चार सय ३९ मेगाावाट क्षमताको हो । अछाम तर्फको ढुङ्गाचाल्नादेखि आयोजनाको हेडवक्र्स पावर हाउससम्मको १८ किलोमिटर पहुँच मार्ग निर्माणसँगै सुर्खेत तर्फको १४ किलोमिटरमध्ये हालसम्म ७ किलोमिटर बाटो निर्माण भइसकेको प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार सुर्खेत तर्फको बाँकी ७ किलोमिटर बाटो समेत अबको दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणस्थलमा क्याम्प हाउस निर्माण सम्पन्न भएसँगै वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीको शाखा कार्यालय समेत सञ्चालनमा ल्याइएको उनको भनाइ छ । प्रबन्धक न्यौपानेका अनुसार अछामको ढकारी र तुर्माखाँदका बासिन्दाको जग्गालाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ श्रेणीमा वर्गीकरण गरिएको छ । आयोजनाले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका जग्गालाई प्रतिरोपनी ७ लाख ३० हजार ९०४ रुपैयाँको दरले मुआब्जा दिने छ । यसैगरी ‘घ’ र ‘ङ’ श्रेणीका जग्गाधनीले प्रतिरोपनी पाँच लाख ४६ हजार ३ सय ३२ रुपैयाँको दरले मुआब्जा पाउने छन् । अछाम क्षेत्रमा मात्रै १८ सय ४४ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने छ । सुर्खेत तर्फको जग्गाको मूल्य निर्धारण कार्य सकिनासाथ अछाम तर्फका लागि समेत मुआब्जा रकम बाँड्न सुरु गरिनेछ ।

आयोजनाले अछामको ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको क्षेत्र ओगट्छ । पूर्वाधार निर्माण गर्ने क्रममा पहुँच मार्ग निर्माण कार्य सकिने वित्तिकै भोक्रे खोला नजिक करिब ७० मिटर लामो बेलिब्रिज बनाइने छ । यसको पावर हाउस अन्डरग्राउन्ड हुनेछ जसमा ६ वटा जेनेरेटर हुने छन् । त्यसबाट ४ सय ३९ मेगावाट बिजुली उत्पादन हुन्छ । यसबाट उत्पादित बिजुली पाँच किलोमिटर लामो प्रसारण लाइन बनाएर सुर्खेतको चौकुनेस्थित बेतन हब सबस्टेसनमा जोडिनेछ । उनका अनुसार सुर्खेत जिल्लाको बेतन गाउँमा सबस्टेसन निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । त्यहाँबाट ३० किलोमिटर टाढा पर्ने दुदुधाराको पूर्वपश्चिम ट्रान्समिसन लाइन र बोर्डर लाइनमा बिजुली जोडिन्छ । वित्तीय व्यवस्थापन अन्तर्गत लगानी सुनिश्चितताका लागि बैंकसँग छलफल र विद्युत खरिदको प्रक्रिया अघि बढाइएको उनले जनाए । विद्युत् खरिद, बिक्री सम्झौता ९पीपीए० गर्नका लागि विद्युत् प्राधिकरणसँग पनि प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । यसबाट सञ्चयकर्ताको अवकासपछिको जीवनयापनमा सहज हुने कोषको भनाइ छ । आयोजनामा सञ्चयकोषका सञ्चयकर्ताको ४० प्रतिशत, सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको १०र१० प्रतिशत लगानी हुनेछ । यसमा सर्वसाधारणको २५ प्रतिशत लगानी हुने छ । आयोजना सम्पन्न गर्नका लागि ब्याजबाहेक ७४ अर्ब १५ करोड लाग्ने र यसबाट वार्षिक रुपमा १४ अर्ब ५० करोड आम्दानी हुने अनुमान छ ।

 

 

Translate »