भेरी पम्पिङको डीपीआर पुनरवलोकन हुँदै

साउन १२, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई ध्यानमा राखेर निर्माण गर्न लागिएको भेरी पम्पिङ खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पुनरवलोकन गरिने भएको छ । आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले ठूलो लगानीको आयोजना भएकाले यसको डीपीआर पुनरवलोकनका लागि विज्ञहरूसँग परामर्श गर्न लागेको छ ।

दुई चरणमा गरी ६ अर्ब रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको डीपीआर तयार भइसकेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागले अहिले उक्त डीपीआरको ‘रिभ्यू’ गर्न समय थप गरेको हो । विभागका सिनियर डिभिजनल इञ्जिनीयर (सीडीई) मधु खनालले आयोजनाको डीपीआर पुनरवलोकनका लागि दुई–तीन महीना समय लाग्ने बताए ।

‘यो ठूलो आयोजना हो, यसको कुनै डिजाइन बीचमै फेल भए ठूलो नोक्सानी बेहोर्नुपर्छ,’ खनालले भने, ‘कम्तीमा निर्माणपूर्व नै हामीले पर्याप्त रिभ्यू गर्न सक्यौं भनेपछि प्राविधिक त्रुटिको सम्भावना कम हुन्छ ।’ डीपीआर पुनरवलोकनपछि आयोजना कार्यान्वयन चरणमा प्रवेश गर्ने जानकारी उनले दिए । आयोजना कार्यान्वयनको प्रारम्भमा भेरी नदी किनारमा इन्टेक निर्माण गर्न बोलपत्र आह्वान गरिनेछ ।

खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आव २०७९र८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ सञ्चालन गर्दै छ । उक्त आयोजना अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याउन लागिएको हो ।

मन्त्रालयले सल्यानको शारदा नगरपालिका, डोटीको दिपायल सिलगढी नगरपालिका, कैलालीका बर्दगोरिया, जोशीपुर र जानकी गाउँपालिकामा यो आयोजना सञ्चालन गर्दै छ । आयोजनाका लागि संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार तथा सम्बन्धित स्थानीय तहले २० प्रतिशत रकम जुटाउनुपर्नेछ ।

कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचुअल फण्ड’ स्थापना गर्न बजेट विनियोजन गरिसकेका छन् । प्रदेश सरकारले चालू आवमा ५ करोड रुपैयाँ छुट्ट्याएको छ भने नगरपालिकाले पहुँचमार्ग निर्माणलगायत आवश्यक पूर्वाधारका कार्यका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । आयोजना कार्यान्वयनका सम्बन्धमा गत फागुनमै तीनओटै तहका सरकारका प्रतिनिधिबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भइसकेको थियो ।

आयोजनाले दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहको स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।
यस्तो बन्नेछ आयोजना
डीपीआर अनुसार भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्यांकी स्थापना गर्ने, अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गर्ने पहिलो चरणअन्तर्गतका कार्य हुन् । यसका लागि  ३ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गरिनेछ । वितरण प्रणाली तथा डिस्ट्रिक्ट मिटर्ड एरिया (डीएमए)को बाँकी काम हुनेछ । भेरीको पानी ४०० मिटरमाथि प्रशोधन गर्ने ट्यांकी (ट्रिटमेन्ट प्लान्ट)मा खसालेपछि त्यसबाट वीरेन्द्रनगरको अमृतडाँडासम्म करीब ७ किलोमिटर लामो पाइप बिछ्याइनेछ । ५५० मिलिमिटर वा योभन्दा बढी आकारको पाइप अमृतडाँडामा राखेर मुख्य ट्यांकीसम्म जडान गरिनेछ ।

अमृतडाँडामा बनाइने ट्यांकी १२ हजार घनमिटरको हुनेछ । आयोजनाका सीडीई खनालले निर्माण शुरू भएको ६ वर्षभित्र भेरीको पानी लिफ्टिङका साथै नगरभित्रका अन्य पानीका मुहानको संरक्षण, एकीकृत जलाधार व्यवस्थापन, जीर्ण आयोजनाको सुधार, उपभोक्ता संस्थाको सबलीकरण लगायत कार्य सञ्चालन गरिने बताए । यी क्रियाकलाप सञ्चालनका लागि नगरपालिका कार्यालयमा आयोजना कार्यान्वयन एकाइ स्थापना गरिनेछ । रासस

Translate »