श्रीलंकाका राष्ट्रपति भागेर अज्ञातस्थानमा, प्रधानमन्त्री राजीनामा दिन तयार

राष्ट्रपति भवन कब्जा गरेपछि खुशीयाली मनाउँदै गरेका प्रदर्शनकारीहरु । तस्वीर : रोयटर्स

असार २५, काठमाडौं । प्रदर्शनकारीहरूले शनिवार श्रीलंकाको राजधानी कोलम्बोस्थित राष्ट्रपति निवास घेराउ गरी कब्जामा लिएपछि राष्ट्रपति गोताबाया राजापाक्ष सरकारी निवास छाडेर अज्ञातस्थलतर्फ लागेका छन् । तर उनलाई सुरक्षित स्थानमा राखिएको बताइए पनि हालसम्म उनको अवस्था अज्ञात नै रहेको छ ।

साथै प्रधानमन्त्री रनिल विक्रमासिंघेले एउटा प्रेस विज्ञप्ति जारी गर्दै संसद बैठक बोलाउन सभामुखलाई आग्रह गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रधानमन्त्री विक्रमासिंघे पनि शनिवार नै सुरक्षित स्थानतर्फ स्थानान्तरण भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

राष्ट्रपतिको राजीनामा माग गर्दै आएका उनीहरुले प्रधानमन्त्रीको पनि राजीनामा मागेका छन् । र सोही विकसित घटनाक्रममा प्रधानमन्त्रीले आफू राजीनामा  दिन तयार रहेको बताएका छन् । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीले आफू राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् । उनले बोलाएको आपतकाल बैठकमा कतिपय राजनीतिक दलका नेताहरुले भने बहिस्कार गरेका छन् ।

राष्ट्रपति गोताबाया राजपाक्ष तथा  तत्कालिन प्रधानमन्त्री महेन्द्रा राजपाक्ष

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरुमा शनिवार राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ पुलमा पौडी खेल्नुका साथै चिया खाइरहेको दृश्य  सार्वजनिक भएको देखिएको छ ।

राष्ट्रपति भवन कब्जा गरेपछि खुशीयाली मनाउँदै गरेका प्रदर्शनकारीहरु ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिवार अपरान्ह भएको यो आन्दोलन यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो ।विरोध प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन ।  हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले पुलिस ब्यारिकेड साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड पनि गरेका छन् ।

प्रधानमन्त्री रनिल विक्रमासिंघे

प्रदर्शनकारीले निषेधाज्ञा पनि अवज्ञा गरेका छन् । गत वर्षको मार्चदेखि हुँदै आएको विरोध प्रदर्शनमा त्यहाँका नागरिकले सहज जीवनयापनको माग गर्दै आएका छन् । श्रीलंकामा इन्धन, औषधी तथा खाद्यान्न अभाव रहेको छ ।

कोरोना महामारी, बढ्दो ऊर्जा मूल्य अनि लोकप्रियतावादी कर छूटजस्ता कारणहरूले गर्दा श्रीलंकाको अर्थतन्त्र संकटमा परेको देखिन्छ भने विदेशी मुद्राको निरन्तर अभाव तथा महँगीले त्यहाँ औषधि, इन्धन तथा अत्यावश्यक वस्तुहरूको चरम अभाव भइरहेको छ । यहाँ वार्षिक मुद्रास्फीति अहिलेसम्मकै उच्च रहेको छ भने खाद्यपदार्थको मूल्य ८० प्रतिशतले बढ्दा मुद्रास्फीति ५४ दशमलव ६ प्रतिशत पुगेको छ।

दक्षिण एशियाली मुलुक श्रीलंकामा आर्थिक संकट गहिरिंदै जानुमा यहाँका राजीनिज्ञहरू नै दोषी रहेको प्रदर्शनकारीको भनाइ छ ।  आर्थिक अभियान/ एजेन्सीहरुको सहयोगमा

Translate »