गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

असार २४, काठमाडौँ । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ ।

                                                        तस्बिर : क्योदो न्युज/रोयटर्स

नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो । उनलाई छातीमा गोली लागेको थियो । तत्काल एम्बुलेन्समा हालेर लगिएकोको थियो । नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए ।

आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए । (ईकान्तिपुर)

Translate »