बेलायती प्रधानमन्त्री जोनसोनले राजीनामा दिने

 बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अन्ततः राजीनामा दिन तयार भएका छन् । उनले बिहीवार नै सत्तारुढ दल कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिने भएका छन् ।

यसको औपचारिक घोषणा बिहीवार अबेरतिर हुँदैछ ।  यद्यपि, उनी शरद ऋतुमा सत्तारुढ दलको सर्वोच्च नेता चयन नहुँदासम्म भने कार्यबाहक प्रधानमन्त्रीको रुपमा रहनेछन् । पार्टीका नेता भावी प्रधानमन्त्री बन्नेछन् ।

कयौं दिन यता राजिनामा सकेसम्म नदिँउ भनेर टारिरहेका उनी अन्ततः प्रधानमन्त्रीको कुर्सी छाड्न तयार भएका हुन् । आफ्ना एक निकट सहयोगी अर्थमन्त्री नधिम जाहावीले अनुरोध गरेपछि जोनसन पद छाड्न राजि भएको बताइएको छ ।

अहिलेको अवस्था राम्रो नभएको र कन्जर्भेटिभ पार्टीका लागि मात्रै नभएर देशकै लागि समेत स्थिति खराब हुन सक्ने भएकोले आफूले प्रधानमन्त्रीलाई अहिले नै उपयुक्त कदम चाल्न जाहावीले अनुरोध गरेका थिए ।

बुधवार जोनसनको मन्त्री परिषद्बाट थप दुई सदस्य र तीन जना कनिष्ठ अधिकारीहरुले राजिनामा दिएका थिए । योसँगै सरकारबाट रानिनामा दिनेको संख्या ५० नाघेको थियो ।

बुधवार भने जोनसनले राजिनामा गर्नका लागि गरिएको अनुरोध अस्वीकार गरेका थिए । सत्तारुढ दलबाटै पनि राजिनामाको माग आउँदा समेत जोनसन पद छाड्न तयार भएका थिएनन् । गएको तीन वर्षयता जोनसन सत्तामा थिए ।

उनीमाथि पार्टीका दाताहरुसँग नजिक भएको, कार्यकर्ताहरुलाई भ्रष्टाचारको अभियोगबाट जोगाएको आरोप लाग्दै आएको छ । यसबाहेक पनि उनीमाथि संसदलाई भ्रममा राखेको र कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धी नियम तोडेको लगायत आरोप पनि लागेका छन् । एजेन्सी

Translate »