कर्णालीका १२ जना युवा सांसदको ज्ञान सहायकमा छनोट

असार ५, जुम्ला । कर्णाली प्रदेश सभा सांसदहरूको ज्ञान सहायक पदका लागि कर्णालीका १२ जना युवा युवती छनोट भएका छन् । पूर्व–व्यवसायीक संसदीय अभ्यास सहयोग कार्यक्रम (पीपीएसपी) कार्यक्रम मार्फत प्रदेश सांसदहरूको ज्ञान सहायक पदका लागि कर्णालीका ६ युवा र ६ युवती गरी १२ जना छनोट भएका हुन् । छनोट भएका १२ जना युवाले अबको ६ महिना सम्म प्रदेश सांसदको ज्ञान सहायका रुपमा काम गर्ने छन् ।

यूएस एम्बेसीको आर्थिक, पोखरा रिसर्च सेन्टरको समन्वय तथा कृति फाउण्डेशनको आयोजनामा पीपीएसपी कर्णालीको ३ वटा क्याम्प सम्पन्न भएका छन् । पहिलो क्याम्पमा कर्णालीका ५० जना युवा सहभागी थिए । भने,दोस्रो क्याम्पमा २५ जना छनोट भएका थिए । त्यस्तै अन्तिम पीपीएसपी फेलोसिपका लागि २५ जनाबाट १२ जना छनोट भएका हुन् ।

छनोट भएका १२ जना युवा युवतीलाई विधेयकको मस्यौदा निर्माण, सार्वजनिक नीति निर्माण, सांसदको काम कर्तव्य, मन्त्रालयगत समितिका जिम्मेवारी लगायतका विषयमा ३ दिने तेस्रो क्याम्प सुर्खेतमा सम्पन्न भएको छ । युवाले नीति निर्माणमा सघाउने, आवश्यक सल्लाह सुझाव दिने, सूचना उपलब्ध गराउने, ग्रामीण क्षेत्रका गुनासा टिप्ने लगायतका काम गर्ने छन् ।

पीपीएसपी फेलोसिपका लागि जुम्लाका रेडियो नेपालकर्मी सागर परियार पनि अन्तिम १२ मा छनोट भएका छन् । साथै दैलेखबाट श्रवण कुमार आचार्य र प्रेमबदा खड्का, रुकुम पश्चिमबाट भावना शर्मा, सन्तोष वली, जाजरकोटबाट प्रेक्षा खनाल, सल्यानबाट भुपेन्द्र डिसी र सुर्खेतबाट सुभाष सापकोटा, विनीता बोगटी, एकता देवकोटा, गोविन्द खड्का र ओजस्पी पौडेल गरी १२ जना छनोट भएको कृति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले बताए ।

उनले भने, ‘प्रतिस्पर्धात्मक प्रक्रियाबाट जम्मा आवेदन परेको ३ सय जनाबाट ५० जना हुँदै २५ र अन्तिम १२ जना छनोट गरिएको हो । तीनै चरणका क्याम्पमा नीति निर्माण केन्द्रित रहेर तालिम दिइएको छ । अब एक हप्ताबाट प्रदेशका १२ जना सांसद सँग युवाले प्रत्यक्ष काम गर्ने छन् । भने नीति निर्माणका लागि सघाउने र ज्ञान सहायको जिम्मेवारी दिइएको छ ।’

नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गर्न नेपालमै पहिलो गण्डकी प्रदेशपछि कर्णालीमा पीपीएसपी फेलोसिप कार्यक्रम सञ्चालन गरिएको पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले बताए ।

उहाँका अनुसार छनोट भएका १२ जनाले प्रदेश सांसदलाई ग्रामीण क्षेत्रका आर्थिक, सामाजिक र राजनीति विषयका सवाल उठान गर्ने र नीति निर्माण सांसदलाई सघाउने छन् । आगामी ६ महिना सांसदका कारबाही सफल पार्नसम्म १२ जनाले आगामी ५ महिना सम्म सहायक सहायकका रुपमा काम गर्ने छ ।

राष्ट्र सञ्चालनको जिम्मेवारी युवाकै काँधमा छ भनिन्छ । कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले भने,‘ज्ञान र अवसरको कमीले आर्थिक,सामाजिक राजनीतिक विकासमा युवाको प्रतिनिधित्व हुन सकेको थिएन । तर पीपीएसपी फेलोसिपले कर्णालीका युवाको क्षमता विकास र नीति निर्माणमा युवा अग्रसरता बढाएको छ ।’

कानुनमा निर्माणमा युवा सहभागिता सुनिश्चित गर्न युवालाई राजनीतिमा प्रवेश गराउन पीपीएस कार्यक्रम कोसेढुंगा साबित  हुने जुम्ला क्षेत्र (२) का सांसद नरेश भण्डारीले बताए । जसका कारण विधेयक समितिमा अड्किने र कानुन निर्माणमा ढिलाइ भएको छ । तर पीपीएसपी फेलोसिपमा छनोट भएका युवाहरूको सहयोगले नीति निर्माणमा सहजता हुने र युवासँग सहकार्य बढ्नेमा खुसी छौ ।’ (रेडियो नेपाल)

Translate »