मुगुका ७९ विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

असार ४, मुगु । मुगुको खत्याड र सोर गाउँपालिकाका ७९ वटा सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक नपुग्दा करिव ७ हजार विद्यार्थीको पढाइ प्रभावित बनेको छ । शैक्षिक सत्र सुरु भएको डेढ महिनासम्म पनि सोरु र खत्याड गाउँपालिकामा रहेका हजारौं विद्यार्थीहरू नयाँ पुस्तकको खोजीमा भौंतारिरहेका छन् ।

छायाँनाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिकाका विद्यार्थीले नयाँ पाठ्यपुस्तक प्राप्त गरे पनि सोरु र खत्याड गाउँपालिकामा अध्यायरत ७ हजार विद्यार्थी भने नयाँ पुस्तकबाट वञ्चित भएका छन् ।

विद्यालय सञ्चालन भएको डेढ महिनासम्म विद्यार्थीले पाठयपुस्तक नपाउँदा पढाइमा असर परेको सोरु गाउँपालिकास्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवास रावलले बताए । पुस्तक नहुँदा शिक्षक शिक्षिकालाई पनि पढाउन मुस्किल हुन थालेको उनी बताउँछन् ।कतिपय विद्यार्थीहरू भने पुस्तक अभावका कारण घरेलु कामतिर समेत लाग्ने गरेको अभिभावकहरू बताउँछन् । खत्याड गाउँपालिकामा रहेका ४१ वटा सामुदायिक विद्यालयमा पढ्ने छात्रछात्राहरूले पाठ्यपुस्तक नपाएको गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीको भनाइ ।

छिटो पुस्तक ढुवानी गरिदिन सम्बन्धित निकायलाई आग्रह गर्दा सुनुवाइ नभएको पनि उनको गुनासो छ । तर शिक्षकहरूले सोरु गाउँपालिकामा लेखापालको समस्याका कारण पाठ्यपुस्तक खरिदको निम्ति अझै विद्यालयको खातामा पैसा निकासा नभएको गुनासो गरेका छन् ।

जिल्ला शिक्षा विकास इकाइ कार्यालयले भने स्थानीय निर्वाचनका कारण समयमै पुस्तक विद्यालयसम्म नपुगेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खडकबहादुर रोकायाले भने खत्याड र सोरु गाउँपालिकामा छिट्टै पुस्तक पठाउन सम्बन्धित निकायसँग पहल गर्ने जनाएका छन् । (इकान्तिपुर)

Translate »