सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई जिउँदै जलाइएको छ । घटना भएकाे थाहा पाएपछि भीडले मोटरसाइकलसहित  ती युवाहरूलाई जिउँदै जलाएका हुन् । जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । घटना जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटर टाढा सदर प्रहरी चौकी क्षेत्रको बसुहा पञ्चायतको एउटा गाउँको हो ।

मृत्यु हुनेमा सुनिल उराँव छन् । आशिष उराँवको अवस्था भने गम्भीर रहेको छ । उनको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि सो क्षेत्रमा तनाव बढेको छ । गाउँमा प्रहरीहरु बाक्लो रुपमा परिचालन गरिएको भाचरतीय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले बिहीबार बिहान पनि धेरैलाई सोधपुछ गरेको थियो ।

स्थानीयवासीका अनुसार नाबालिका आमा बुवासँग लोहरदगाको भण्डारामा गएकी थिइन् । फर्कनका लागि आमाबुवा छोरीसँगै बस स्ट्यान्डमा उभिरहेका थिए । यसै क्रममा छिमेकी गाउँका साथीसहित ती युवा मोटरसाइकल लिएर आए । बाटोमा उभिनुको कारण परिवारलाई सोधे भने बालिकाका बुवाले बस कुरिरहेको बताए ।

बालिकाका आमाबुबाले घर छिट्टै पुग्नु छ भनेपछि दुवै युवाले नाबालिग बालिकालाई मोटरसाइकलमा लिएर हिँडे । आमाबुवा साँझ अबेर घर पुग्दा पनि बालिका घरमा थिइनन्, त्यसपछि परिवारका सदस्यले बालिका खोज्न निस्किए । सो लगत्तै छिमेकी गाउँमा गम्भीर अवस्थामा बालिका फेला परिन् ।

बालिकाले आफूलाई दुबै युवकले बलात्कार गरेको परिवारका सदस्यहरुलाई बताइन् । त्यसपछि परिवारका सदस्य दुवै युवकलाई खोज्न निस्किए । छिमेकी गाउँमा दुवै युवकलाई मोटरसाइकलसहित फेला पारे । त्यसपछि गाउँका महिला र पुरुष दुवै युवकलाई सोधपुछ गर्न पीडित बालिकाको गाउँ पुगे । बालिकाले युवकहरुसामु पूरा घटनाक्रम सुनाइन् ।

बालिकाको बयानपछि गाउँलेहरूले दुवै युवकहरुलाई कुटपिट गरे र मोटरसाइकलसहित दुवैको शरीरमा मट्टीतेल छर्केर आगो लगाइ दिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । दुवै युवालाई अस्पताल लगिएको छ । जसमा उपचारका क्रममा एक युवकको मृत्यु भएको छ। घटनापछि उक्त क्षेत्रमा तनावग्रस्त भएको छ । बाक्लो रुपमा प्रहरी गाउँमा परिचालन गरिएको छ ।

दुई जनालाई जिउँदै जलाएको घटनापछि गाउँमा ठूलो संख्यामा फौज तैनाथ भए पनि प्रहरीले संवेदनशील विषय भएको भन्दै थप जानकारी दिन नमानेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।  इलाका प्रमुख मनिषचन्द्र लालले घटनाको अनुसन्धान भइरहेको, केही सुराक फेला परेको बताए । (एजेन्सी)

Translate »