४ दिनपछि नेपाल आइपुग्दै छ मनसुन

जेठ २२, काठमाडौं । नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ ।

अबको दुई/ चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगको मेची अञ्चल आसपास क्षेत्रबाट मनसुन शुरु हुनेछ ।

उनका अनुसाार अहिले प्रि – मनसुन र मनसुनको शुरुवाती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई/ चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ । प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताइन्।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करीब ८० वर्षा हुने गर्दछ ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भूभागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतवार काठमाडौंको न्यूनतम तापक्रम २० र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको महाशाखाले बताएको छ ।  रासस

Translate »