सुर्खेतमा मंगुर माछा विक्री वितरणमा रोक

स्काई न्यूज/ जेठ १८, सुर्खेत । सुर्खेतमा मंगुर माछाको विक्री वितरणमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुधबार बसेको बजार अनुगमन समितिसँग सर्वपक्षिय बैठकले जिल्लामा अबैध तरिकाले भारतीय माछा आउन थालेपछि माछा उत्पादक तथा उपभोक्ताको आग्रहमा मंगुर माछाको विक्री वितरणमा रोक लगाईएको हो ।

उपभोक्ताले भारतबाट ‘फर्मालिन’ प्रयोग गरेको माछा समेत आयात गरेर व्यापारीले बढी मुनाफा कमाउने उद्देश्यले विक्री वितरण गरेको गुनासो गरेपछि बैठकले कुनैपनि व्यापारीबाट औषधि प्रयोग गरिएका माछा विक्री वितरण गरेको पाईए कडा कार्वाही गरिने बताएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले कुनैपनि व्यापारीले माछालाई कुहिनबाट जोगाउन विषाक्त रसायन प्रयोग गरेको माछा विक्री वितरण गरेको पाइए कानून अनुसार हदैसम्मको कार्वाही गरिने बताए ।

उनले बजार अनुगमन समितिलाई समेत बजारमा पाईने माछाको परीक्षण गरी सत्यसथ्य बुझ्न समेत निर्देशन दिए । सहायक प्रजिअ पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पर्यावरणीय हिसावले नेपाल, भारतलगायतका देशमा प्रतिबन्धित फर्मालिनको डरले ग्राहक जिउँदो माछामा बढी रुचि राखेपछि विकल्पको रुपमा मंगुर (मुंग्री) माछा खरिद गर्न थालेपछि माग बढेकाले भारतबाट आयातित माछाले आपूर्ति हुँदै आएको स्थानीय व्यवसायी बताउँछन् । माछाको वर्गींकरणमा समेत नराखिएको मंगुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गर्ने भएकाले विक्री वितरणमा रोक लगाईएको हो ।

नेपालमा पालिने मुंगुर माछा हुर्काउन पनि फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गरिन्छ । जल प्रदुषण हुनुका साथै माछामा अत्याधिक मात्रामा हेभिमेटल समेत पाइने भएकाले उक्त माछाको सेवनबाट क्यान्सर, अर्थराटिस, मधुमेह लगायतका घातक रोगहरु निम्तिने विज्ञहरुको भनाइ छ । बैठकमा उपभोक्तासँग सम्बन्धित २२ सरकारी कार्यालय सम्मलित बजार अनुगमन समिति, माछा उत्पादक कृषक, माछा विक्रेता व्यवसायी र राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Translate »