राष्ट्रपतिद्वारा काँक्रेविहार अवलोकन

स्काई न्यूज/ जेठ १७, सुर्खेत ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेत स्थित नेपालको एकमात्र संरक्षित वनमा रहेको ‘काँक्रेविहार’ मन्दिरको अवलोकन भ्रमण गरेकी छन् । बाजुरा स्थित बडी मालिका मन्दिरको अवलोकन भ्रमणका लागि मंगलबार सुर्खेत आईपुगेकी राष्ट्रिपति भण्डारीले ‘काँक्रेविहार’ मा रहेको भग्नावशेषलाई पुरात्व विभागबाट उत्खनन् गरि पुनःनिर्माण गरिएको शिखरशैलीको मन्दिरको अवलोकन भ्रमण गरेकी हुन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा आइपुगेकी उनले सुर्खेतमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रर्वद्धन गर्न जरुरी रहेको धारणा राखिन ।

कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे उनले जिज्ञासा समेत राखेकी थिइन । उनले नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगरका मेयर मोहनमाया ढकालले काँक्रेविहारको ऐतिहासिकता र पुरातात्विक महत्वको बारेमा जानकारी गराएका थिए । त्यसक्रममा राष्ट्रपति भण्डारीले हिन्दू र बौद्ध धर्मको अनुपम कलाको नमूनाको रुपमा निर्माण भएको काँक्रेविहारको थप विकास र संरक्षणमा चासो राखेकी हुन् । उनले ऐतिहासिक काँक्रेविहार क्षेत्रमा थप पूर्वाधार निर्माणसँगै मन्दिर प्रागणको विकास गरि पर्यटन क्षेत्रलाई बढवा दिन सकिने बताईन् ।

उनलाई काँक्रेविहारमा नेकपा एमाले स्थायी समिति सदस्य कँडेल, वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित मेयर ढकाल, उपमेयर निलकण्ठ खनाललगायत जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकतासँगै कर्मचारीहरुले स्वागत गरेका थिए । सोही अवसरमा वीरेन्द्रनगर नगरपालिकाका मेयर ढकालले राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरेकी थिइन् । राष्ट्रपतिबाट कर्णालीकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा रहेको काँक्रेविहार क्षेत्रको अवलोकन भएसँगै यसको संरक्षणमा थप टेवा पुग्ने स्थानीयको भनाइ छ । साथै काँक्रेविहारको संरक्षण र विकास भएमा कर्णालीमा पर्यटकलाई आकर्षित गर्न सकिने उनीहरुको विश्वास छ ।

पछिल्ला दिनमा पुनर्निनिर्माण र संरक्षणको प्रयासपछि ऐतिहासिक महत्वको काँक्रेविहारमा पछिल्लो समय पुरातत्व विभागले शिखर शैलीको मन्दिर निर्माण गरिएको हो । ‘कांक्रेविहारको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक पक्षको प्रर्वद्र्धन गर्ने उद्देश्यले राष्ट्रपतिद्वारा अवलोकन भ्रमण गरिएको हो,’  राष्ट्रपतिका स्वकीय प्रेस सचिव सोम राईले भने, ‘यस्ता ठाउँहरुको प्रर्वद्धन गर्न, स्वच्छता कायम राख्न र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न राष्ट्रपतिले विशेष चासो राख्दै आउनुभएको छ ।’ उनले राष्ट्रपति भण्डारी बुधबार बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम रहेको जानकारी दिए । उनका अनुसार मंगलबार सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेमा बस्ने कार्यक्रम रहेको छ ।

 

Translate »