सुर्खेतको वीरेन्द्रनगरमा गठबन्धनलाई हराएर एमालेका भण्डारी र खनाल विजयी

स्काई न्यूज/ जेठ, ५ सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख÷उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार मोहनमाया ढकाल र निलकण्ठ खनाल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा विजयी भएका हुन् ।

ढकाल वीरेन्द्रनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख हुन् भने खनाल अघिल्लो स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर वडा नं. ४ का निर्वाचित वडाध्यक्षसमेत हुन् । ढकालले कांग्रेस गठबन्धनका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई पराजित गरेकी छन् । उनले १६ हजार ३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी खड्काले १५ हजार ४ सय ८४ मत प्राप्त गरी पराजित भएका हुन् ।

ढकालले खड्कालाई ५ सय ५४ मत अन्तरले पराजित गरिन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मुकुन्दश्याम गिरीले १० हजार ६ मत प्राप्त गरी पराजित भएका छन् । नगरपालिकाको उप–प्रमुख पदका उम्मेदवार खनालले २० हजार ३ सय ६४ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट माओवादीकी उम्मेदवार शान्ति ढकालले ११ हजार ५ सय ३३ मत ल्याएकी छन् ।

यस्तै राप्रपाकी लक्ष्मीकुमारी सार्कीले ३ हजार ६ सय ९७ मत प्राप्त गरेकी थिइन् । कुल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व काँग्रेसले पाएको छ । विसं २०७४ को निर्वाचनमा यहाँ प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी भएका थिए ।

Translate »