सुर्खेतमा मतदाताको उत्साहपूर्ण सहभागिता

स्काई न्यूज/ बैशाख ३०, सुर्खेत । सुर्खेतमा स्थानीय सरकारको दोस्रो कार्यकाल चयन गर्नका लागि मतदाताको उत्साहपूर्ण सहभागिता रहेको छ । आज विहानैदेखि मतदान प्रक्रिया शुरु हुनु अगाबै लाईनमा लागेका मतदाताले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न उत्साह देखिएको हो ।  निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चितताका लागि सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न मतदातालाई उनले आग्रह गरे । दई लाख ३८ हजार ४ सय ५७ मतदाता रहेको सुर्खेतमा नौ वटा स्थानीय तह मध्ये सबैभन्दा धेरै मतदाता वीरेन्द्रनगर नगरपालिकामा र कम चिङगाड गाउँपालिकामा रहेका छन् ।

१ सय ३८ वटा मतदानस्थल अन्तर्गत २ सय ९१ मतदान केन्द्रका लागि १ हजार ४ सय ४५ कर्मचारी खटाइएको छ । जिल्लामा कुल ५ सय १३ पदका लागि २ हजार ८४ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । यो समाचार तयार पारुन्जेलसम्म जिल्लाकाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण तवर मतदान भईरहेको सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

Translate »