अन्तराष्ट्रिय नसिंङ दिवस : उत्पादन अनुसार अवसर नपाएको नर्सहरुको गुनासो

स्काई न्यूज/ बैशाख २९, सुर्खेत ।  सुर्खेतका विभिन्न संस्थामा संलग्न रहेकाहरुले नर्सहरुको पेशालाई ब्यबस्थित गर्न नसकेको गुनासो गरेका छन् । अन्तराष्ट्रिय नसिंङ दिवसको अवसर पारेर विहीबार सुर्खेत स्थित प्रदेश अस्पतालमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाइ अहिले पनि नर्सहरुले भोगिरहेको मुख्य समस्या भएको गुनासो सुनाएका हुन् ।

सरकारले ब्यबस्था गरेको दरबन्दी अनुपातमा नर्सहरुको उत्पादन बर्षेनी अध्याधिक बढदै गईरहेकाले त्यतातिर सरोकारवालाको ध्यान पुग्न आवश्यक रहेको औल्याईएको छ । प्रदेश अस्पताल सुर्खेतका नर्सिङ मेट्रोन दीपा भट्टराईले उत्पादनको अनुपातमा दरबन्दीको ब्यबस्था नहुदा जनशक्ति खेर गईरहेको बताईन् ।

उनले १०/१२ लाख बढी खर्च गरेर अध्ययन गरेका नर्सहरुले नीजि चिकित्सालयमा ८÷१० हजारमा रोजगारी गर्न बाध्य रहेको जनाईन् । त्यसकारण सरकारले दरबन्दीको ब्यबस्था तत्काल गराउनुपर्छ उनको आग्रह छ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ३४ पिन्ट रगत संकलन भएको वरिष्ठ नर्सिङ अधिकृत सकुन्तला सापकोटाले जानकारी दिईन् ।

रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खट्काले रक्तदान गर्नु मानव जीवनको अमुल्य दान रहेको बताए । उनले संकलित रगत प्रदेश अस्पतालले सञ्चालनमा ल्याउन लागेको व्लड बैंकमा राखिने जानकारी दिए ।

Translate »